रोहितको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सको पहिलो जित
वि.सं.२०८१ मंसिर २५ मंगलवार १२:५७
1.4K
shares
काठमाडौं: रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । रोहितले ८० रन जोडेर ४ विकेट लिँदा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।
लगातार ४ खेल हारेको लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित्तै राख्न चितवनविरुद्धको खेल जित्नै पर्ने दबाब थियो । यो खेल हारेको भए लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना समाप्त हुने समीकरण थियो । तर, १६८ रनको लक्ष्य पछ्याएको चितवनको निर्धारित २० ओभरमा ८ विकेट लिएर १३८ रनमै रोक्दै लुम्बिनीले प्रतियोगितामा पुनरागमन जित निकालेको हो ।
लुम्बिनीले पाँच खेलमा पुगेर जितविहीन यात्रा टुंगाएको छ । लुम्बिनीले विराटनगर किङ्ससँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेटको हार बेहोरेको थियो । यस्तै, सुदूरपश्चिम रोयल्सलाई ४५ र जनकपुर बोल्ड्सलाई एक रनको नतिजा सुम्पियो । तीन खेल जितेको चितवनको भने यो प्रतियोगितामा दोस्रो हार हो । चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको थियो । तर, कर्णाली याक्सलाई ६ विकेटको नतिजा सुम्पियो ।
चौथो खेलमा सुदूरपश्चिमविरुद्ध ३३ रनको जित हासिल गर्दै चितवनले तालिकामा ६ अंक पुर्याएको थियो । यो जितले चितवनलाई जनकपुर र सुदूरपश्चिमलाई उछिन्दै शीर्षमा पुग्ने अवसर थियो । तर, चितवनले उक्त अवसर सदुपयोग गर्न सकेन । चितवनका लुक बेनकेन्स्टाइनले सर्वाधिक ३१ रन बनाए । २९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २०, रवी बोपाराले १२ र सन्तोष कार्कीले १० रन लिँदा रिजन ढकाल १५ र नर सार्की २२ रनमा अविजित रहे । अन्यको ब्याटिङ चल्न सकेन ।
रोहितले ४ ओभरमा ४ विकेट लिन १७ रन खर्चिए । रोमन साइमन्डले २ तथा साद बिन जाफर र अभिषेक गौतमले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । पहिलो पावर प्ले मै (१.३ ओभरमा २-१) दुई विकेट लिँदै चितवनले लुम्बिनीलाई दबाबमा राखेपनि सोहेल तनवीरले दिएको जीवनदान महंगो बन्न पुग्यो । १०औं ओभरको अन्तिम बलमा उनले सट फाइन लेगमा जाफरलाई पाँच रनमा जीवनदान दिएका थिए । कुशलको बललाई उनले स्वीप गरेका थिए । तर, तनवीरले सहज क्याच छाडे ।
सोहीको फाइदा उठाउँदै जाफरले कप्तान रोहितसँग पाँचौं विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । एनपिएलमा यो चौथो शतकीय साझेदारी हो । रोहितले सर्वाधिक ८० रन बनाए । ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । एनपिएलमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए ।
जाफर भने ५२ रनमा रन आउट भए । ३५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका हुन् । सन्दीप जोरा ४ रनमा अविजित रहँदा आशुतोष धिरौया एक, अर्जुन साउद १५, टम मुर्स १० र उन्मुक्त चन्द शून्य रनमा पभिलियन फर्किए । चितवनका रिजन ढकालले सर्वाधिक ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । कुशल मल्ल र रञ्जित कुमारको नाममा समान एक विकेट रह्यो ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार १२:५७




















