नेपालले गुजरातलाई गुजरातलाई ८ विकेटले हरायो

वि.सं.२०८० चैत १८ आइतवार १८:०१
774
shares
काठमाडौं: त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक-एक विकेट लिए ।
त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । उनले ३.२ ओभरमा २२ रन खर्चिए । सोमपाल कामीले पनि एक विकेट लिए । गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए ।
गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे । अभिषेक देसाईले ११ रन बनाए । समित पटेलले १० रन बटुले । गुजरातले अतिरिक्त रुपमा केवल दुई रन पायो । नेपालले दोस्रो खेल अप्रिल २ तारिखमा बरोडासँग खेल्नेछ ।

वि.सं.२०८० चैत १८ आइतवार १८:०१