मछिन्द्र फुटबल क्लबले उचाल्यो केपी ओली कपको उपाधि

वि.सं.२०८० फागुन १९ शनिवार १९:४५
2.9K
shares
काठमाडौं: केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले उचालेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी)लाई टाइब्रेकरमा पराजित गर्दै मछिन्द्र दोस्रो पटक उपाधि उचालेको हो ।
एनआरटीलाई मछिन्द्रले टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको विजेताको टाइब्रेकरमार्फत निर्णय भएको थियो । निर्धारित ९० मिनेटमा मछिन्द्रकै प्रभुत्व रहेको थियो । धेरै मौकाहरु सिर्जना गरेपनि मछिन्द्रले गोल भने गर्न सकेन । उता एनआरटीले पनि केही मौकाहरु पाएको थियो ।
टाइब्रेकरमा मछिन्द्रले ५ र एनआरटीले ४ पेनाल्टीमा गोल गरेपछि एनआरटीका विवेक गुरुङले पेनाल्टी लिनका लागि अघि सरेका थिए । तर उनको पेनाल्टी पोस्ट भन्दा केही टाढाबाट बाहिरिएको थियो । टाइब्रेकरमा मछिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरेका थिए भने एनआरटीका लागि सरोज तामाङ, संजीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।
मछिन्द्रले उपाधि सहित ११ लाख रुपैयाँ हात पारेको छ भने एनआरटी ५ लाखमा सिमित हुन पुगेको छ । गत संस्करणको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लवलाई हराउँदै उपाधि उचालेको थियो ।

वि.सं.२०८० फागुन १९ शनिवार १९:४५