नामिबियासँग नेपाल चार विकेटले पराजित
वि.सं.२०८० फागुन ३ बिहीवार १६:३२
2.1K
shares
काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।
नेपालका लागि सोमपाल कामीले ३ र ललित राजबंशीले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा अलआउट हुँदै सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी गुलशन झाले २१ रन, कुशल मल्ल १५ रन, करण केसीले १६ रन बनाए । कुशल भुर्तेल पहिलो बलमै आउट भए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नामिबियाका लागि जेरार्ड एरास्मसले सर्वाधिक ५ विकेट, रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २/२ विकेट र निकोल लोफ्टि-इटनले १ विकेट लिन सफल भए ।
नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३४औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले टियु मैदानमा १५ ओडीआई खेलपछि हार बेहोर्द प्रशिक्षक मोन्टि देशाइको घरेलु ओडीआईको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो ।
नामिबियाका लागि अलराउन्डर जान निकोल लफ्ट इटन र जेजे स्मिटले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितको आधार तय गरे । स्मिट ३५ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे । लफ्ट-इटनले ३० बलमा ५ चौकासहित ३१ रन जोडे । नामिबियाका लागि जान फ्रिलिंकले ३४ रन जोडे । उनी २१ औं ओभरमा सोमपालको बलमा क्याच आउट भएका थिए ।
ओपनरद्वय निको डाभीन १५ रन र माइकल भान लिंगेनले ३३ बलमा २३ रन जोडे । दुवैलाई ललित राजवंशीले आउट गरे । कप्तान एरास्मस ८ रन बनाएर सोमपालको बलमा क्याच आउट भए । उनी आउट भएको ३ बलपछि नै फ्रिलिंक आउट भएका थिए । २५ औं ओभरमा जेन ग्रीन आउट भएपछि नेपालले खेलमा फर्कने संकेत पाएको थियो । सोमपालले लगातार ३ विकेट लिँदै ८१-२ बाट ८४-५ को स्थितिमा पुर्याएपछि नामिबिया दबाबमा थियो । तर स्मिट र लफ्ट इटनले टोलीलाई जितसम्म पुर्याए ।
कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए । नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २-२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए ।
ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए । ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे ।
लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३-३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१-४ को स्थितिमा पुग्यो । त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे ।
लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४-७ को अवस्थामा पुग्यो । ३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।
एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।
वि.सं.२०८० फागुन ३ बिहीवार १६:३२



















