देश र क्लबका लागि मेस्सीलाई कीर्तिमानी ४४औँ उपाधि
वि.सं.२०८० भदौ ३ आइतवार १२:१३
1.5K
shares
एजेन्सी: न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै इन्टर मियामीले लिग्स कप-२०२३ को उपाधि जित्न सफल भएको छ ।
निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मियामी १०–९ गोलले विजयी बनेको हो । ११ राउन्डसम्म भएको सुटआउटमा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले विपक्षी टोलीको दुईवटा प्रहार रोक्दै टोलीलाई जीत दिलाए ।

उनले न्यासभिलका मिडफिल्डर रान्डाल लियल र गोलकिपर एलियट प्यानिकोको प्रहार रोकेका थिए ।यसअघि खेलको २३औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा फफा पिकल्टले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीसम्म पुगेको थियो ।
देश र क्लबका लागि मेस्सीको यो ४४ औँ उपाधि हो । योसँगै उनले नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

वि.सं.२०८० भदौ ३ आइतवार १२:१३




















