सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदै
वि.सं.२०७९ फागुन ३० मंगलवार ०७:५५
2.1K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको चौंथो चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यो दुईबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
जावलाखेल तेस्रो जित निकाल्ने योजनामा छ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा छ ।
त्यसैगरी रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा हुनेछ । मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३औं स्थानमा रहेको छ । पुलिस पहिलो अंकको खोजीमा छ । ३ खेलमा अंक विहीन पुलिस पुछारमा छ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।
यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
वि.सं.२०७९ फागुन ३० मंगलवार ०७:५५




















