रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण सुरु, राखेप सदस्य सचिव घिसिङद्वारा उदघाटन

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३१

काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजको आयोजनामा दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रम सोमबारदेखि कोटेश्वरमा सुरु भएको छ ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उदघाटन भएको थियो ।
उदघाटनका क्रममा सदस्य सचिव घिसिङले एशियान र दक्षिण एशियाली खेलकुदमा राम्रो प्रदर्शन तथा पदक पाउने गरी रणनीतिक लगानीमा आफू जुटेको बताएका छन् । घिसिङले राम्रो खेलाडीलाई पदकका लागि सरकार एक करोडसम्म लगानी गर्न तयार रहेको बताए ।
मार्चको तेस्रो हप्तामा सुरु गर्ने गरी राखेपले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक रूपमा अघि बढेको उल्लेख गर्दै घिसिङले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताएका हुने ।
‘मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यक परे पनि राज्यले लगानी गर्नेछ । तर, खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ’, उनले भने ।
नेपाली समाजमा भनसुनका आधारमा खेलाडी र प्रशिक्षक बन्न सक्ने खराब सोच हट्न नसकेको जिकिर गर्दै सदस्यसचिव घिसिङले यस्तो प्रवृत्तिका कारण राष्ट्रले हार व्यहोर्ने बताए ।

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३१