इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र वेस्ट ब्रोमले खेल बराबरी
वि.सं.२०७७ असोज ११ आइतवार ०८:५०
1.8K
shares
एजेन्सीः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ब्रोमसँग बराबरी खेलेको छ ।
वेस्ट ब्रोमको मैदानमा भएको खेलमा पहिलो हाफमा घरेलु टोलीले तीन गोल गर्दा दोस्रो हाफमा चेल्सीले तीन गोल फर्कायो ।
घरेलु टोलीका कलुम रोविन्सनले २ तथा कायल बार्टलीले १ गोल गरे । चेल्सीका लागि मासोन माउन्ट, हड्सन ओडोई र टमी अब्राहमले गोल गरे ।
खेलमा अग्रता घरेलु टोलीले चौथो मिनेटमा बनायो । रोविन्सनले चेल्सीका डिफेन्डर मार्कोस अलन्सोको कम्जोरीको फाइदा उठाउँदै खेलमा १–० को अग्रता बनाए ।
२५औं मिनेटमा प्रिमियर लिगमा डेब्यु खेल खेलेका थिएगो सिल्भाको गल्तीमा रोविन्सनले दोस्रो गोल गर्दा चेल्सी २–० ले पछि पर्यो । त्यसको २ मिनेट लगतै बार्टलीले गोल गर्दा घरेलु टोलीले खेलमा ३–० को बलियो अग्रता बनायो ।
दोस्रो हाफमा तथा खेलको ५५औं मिनेटमा चेल्सीका माउन्टले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा काई हावट्र्जको पासमा हड्सन ओडोईले गोल गर्दा चेल्सीले खेलमा पुनरागमनको संकेत देखायो ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा अब्राहमले गोल गरेपछि चेल्सी हारबाट जोगियो ।
बराबरीसंगै चेल्सीले तीन खेलमा ४ अंक जोडेको छ । चेल्सीले यससअघि खेलेका दुई खेलमा १ मा जित र एकमा पराजयको सामना गरेको थियो ।
वि.सं.२०७७ असोज ११ आइतवार ०८:५०




















