YouTube Link

मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि, अन्य के-के मा भयो वृद्धि

World Cup 2026
Facebook Link

काठमाडौं: सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको जानकारी दिए ।

 

बजेटको नयाँ व्यवस्था अनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाएका छन् । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिइएको छ । नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशतमात्र आयकर लाग्ने व्यवस्था पनि सरकारले गरेको छ । सरकारले १० करोड रुपैयाँसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलिने भएको छ । त्यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मिसिनरी तथा उपकरण पैठारी गर्दा लाग्ने भन्सार महसुल हटाइएको छ भने यसमा लाग्ने अन्य सबै खालका कर तथा महसुल खारेज गरिएको छ ।

 

फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको आयातमा १ प्रतिशतमात्र भन्सार लगाउने व्यवस्था ल्याइएको छ भने ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि मिसिनरी उपकरण आयातमा सबै किसिमका कर छुट दिइएको छ । ग्रीन हाइड्रोजन उत्पादकलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था पनि बजेटमा राखिएको छ । विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण आयात गर्दा १ प्रतिशत भन्सार महसुलबाहेक अरु कुनै पनि प्रकारका कर लाग्ने छैनन् । साथै, यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिइएको छ ।

 

डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरिएको छ । त्यस्तै, खाद्यान्न, गेडागुडी, फलफूललगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरिएको छ । श्रवणशक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवणयन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर पनि खारेज गरिएको छ ।

 

राजस्व छुट सुविधामा पैठारी गर्न पाउने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान १६ लाख रुपैयाँको मूल्य सीमा हटाइएको छ । बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था सरकारले ल्याएको छ ।

 

मदिरा, वियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि भएको छ भने विद्यमान अन्तःशुल्क दरमा पनि वृद्धि भएको छ । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ । घरपालुवा चराहरू (पोल्ट्री)को ताजा, चिस्याइएको वा हिमीकृत मासुमा १५ प्रतिशत अन्तःशुल्क लगाइएको छ भने खुद्रा बिक्रीका लागि राखिएका कुकुर वा बिरालोको खानाको अन्तःशुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ । त्यस्तै, अम्रिसोमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

 

सुर्तीजन्य पदार्थको अन्तःशुल्क बढाइएको छ । फिल्टर नभएको चुरोट तथा सिगारको अन्तःशुल्क प्रतिएम ७५५ रुपैयाँ रहेकामा त्यसलाई बढाएर ७७८ रुपैयाँ बनाइएको छ । फिल्टर भएको ७० मिलीमिटरसम्म लम्बाइको चुरोटको प्रतिएम अन्तःशुल्क एक हजार ७४० रुपैयाँ रहेकामा त्यसलाई बढाएर १ हजार ७९२ रुपैयाँ बनाइएको छ । त्यस्तै, ७० भन्दा बढी र ७५ मिलीमिटरभन्दा कम लम्बाइको चुरोटको प्रतिएम २ हजार ३७० रुपैयाँबाट २ हजार ४४१ रुपैयाँ पुर्‍याइएको छ ।

 

काठको धुलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल्स मिश्रण गरी बनेका विभिन्न मोटाइका बोर्डहरूको अन्तःशुल्क ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, निर्माण वा सिभिल इन्जिनियरिङका लागि पूर्वनिर्मित संरचनात्मक अवयवहरूको पनि अन्तःशुल्क ५ प्रतिशतबाट १० प्रतिशत बनाइएको छ । कर्कटपाता, ब्रेक लाइनिङ प्याडहरूको अन्तःशुल्क ५ प्रतिशतबाट १० प्रतिशत बनाइएको छ ।

 

सुकाएको अंगुर (किसमिस) सार्क मुलुकका लागि ७.२५ प्रतिशतबाट ६ प्रतिशत र अन्य मुलुकबाट आयात गर्दा १५ प्रतिशतबाट १० प्रतिशत कायम गरिएको छ । चुकन्दरको चिनी सार्क मुलुकबाट ६ प्रतिशत र अन्य मुलुकबाट ल्याउँदा ३० प्रतिशत भन्सार लाग्ने गरेकामा सार्क मुलुकका लागि लाग्ने भन्सार यथावत् राखिएको छ भने अन्य मुलुकका लागि भन्सार घटाएर १५ प्रतिशत लाग्ने व्यवस्था कायम गरिएको छ । त्यस्तै, सक्खर गुँड, भेली, गुँडगट्टा, खाँडसारी चिनी, उखुको अन्य चिनी, मिश्रीको भन्सार ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाइएको छ । ‘फ्रुटपल्स’को भन्सार १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ । त्यस्तै, सुप, ब्रोथ र सोका लागि चाहिने वस्तुको भन्सार महसुल २० प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाइएको छ ।

 

सुर्तीरहित सुगन्धित सुपारीको प्रतिकिलो १०० रुपैयाँ भन्सार लाग्ने गरेकामा त्यसलाई परिमार्जन गरी ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था ल्याइएको छ । त्यस्तै, इनर्जी ड्रिङ्समा प्रतिलिटर १०० रुपैयाँका दरले भन्सार लाग्दै आएकामा अब ४० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । हल्का पेय पदार्थ, बास्नायुक्त दूधका पेय पदार्थको भन्सार पनि ४० प्रतिशत कायम गरिएको छ । पेय पदार्थ र अल्कोहलजन्य वस्तुमा यसअघि प्रतिलिटर बराबर निश्चित रकम भन्सार दर तोकिएकामा त्यसलाई संशोधन गरिएको छ । जौंबाट बनेको बियर आयातमा प्रतिलिटर २०० रुपैयाँका दरले भन्सार लाग्ने गरेकामा त्यसलाई संशोधन गरी ८० प्रतिशत भन्सार लाग्ने व्यवस्था ल्याइएको छ ।

 

ताजा अंगुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको ‘फोर्टिफाइड वाइन’, ‘स्पार्किङ वाइन’को भन्सार प्रतिलिटर ३०० रुपैयाँ रहेकामा अब ८० प्रतिशत लाग्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको छ। छ्याङ (कन्ट्री बियर), सेम्पेन, सेरी, मिड, पेरी, साइडरको भन्सार ४० बाट बढाएर ८० प्रतिशत बनाइएको छ । त्यस्तै, ८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सोभन्दा माथि अल्कोहल भएको ‘अन्डिनेचर्ड इथाइल अल्कोहल’ र जुनसुकै अल्कोहल भएको ‘डिनेचर्ड इथाइल अल्कोहल’ तथा अन्य स्प्रिटको भन्सार प्रतिलिटर ६० रुपैयाँ लाग्ने गरेकामा त्यसलाई अब ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ। यसअघि ब्राण्डीको आयातमा प्रतिलिटर १ हजार ५०० रुपैयाँ भन्सार दर रहेकामा अब ८० प्रतिशत कायम गरिएको छ । त्यस्तै अरु विभिन्न खालका अल्कोहलजन्य पदार्थमा १०० प्रतिशत भन्सार लाग्ने गरी आर्थिक विधेयक ल्याइएको छ ।

 

सिगार र चुरोटको प्रति १ हजार खिल्लीको भन्सार ९ हजार रुपैयाँ रहेकामा त्यसलाई बढाएर ११ हजार रुपैयाँ पुर्‍याइएको छ । तयारी बिँडी, फिल्टर भएको विभिन्न लम्बाइको चुरोट र सिगारमा प्रतिहजार खिल्ली ४ हजार ५०० रुपैयाँ भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिहजार खिल्ली ५ हजार ५०० रुपैयाँ बनाइएको छ । चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको भन्सार ३० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्‍याइएको छ ।

 

इकोजिन वा अन्य चुन मिश्रित स्मारक वा भवन बनाउने ढुङ्गा र एलावास्टर (स्फटिक ढुङ्गा)को ३० प्रतिशत रहेको भन्सार दरलाई घटाएर २० प्रतिशत कायम गरिएको छ । त्यसैगरी, कपडाबाट बनेको भित्ता ढाक्ने वालपेपर (वाल कभरिङ) विभिन्न बुट्टा कुँदिएको भित्तामा टाँस्ने कागज वा प्लास्टिक वालपेपरमा सार्क मुलुकबाहेक अन्यबाट आयात गर्दा यसअघि १५ प्रतिशत भन्सार लाग्दै आएकामा बढाएर २० प्रतिशत बनाइएको छ ।

 

ट्रिमिङ भएको टोपीको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाइएको छ । काठको धुलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल्स मिश्रण गरी बनेको सङ्घार, फ्याक, झिङ्गटी तथा बोर्डहरू सार्कबाहेक मुलुकबाट आयात गर्दा २० प्रतिशत लाग्ने गरेकामा घटाएर १५ प्रतिशत बनाइएको छ । सिमेन्ट क्रङ्क्रिट वा कृत्रिम ढुङ्गाका सामान आयात गर्दा सार्क मुलुकका लागि ७.२५ बाट घटाएर ६ प्रतिशत र सार्कबाहेकका मुलुकका लागि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । विभिन्न निर्माण उपकरण जस्तै, खामो गाड्ने (पाइल ड्राइभर) खामो उखेल्ने (पाइल एक्सट्र्याक्टर) छिद्रण गर्ने (बोरिङ) लगायतका उपकरणमा ५ प्रतिशत भन्सार लाग्दै आएकामा १ प्रतिशतमा झारिएको छ ।

 

आर्थिक विधेयकले अन्तःशुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था ल्याएको छ । २०८१ चैत मसान्तसम्म बुझाउनुपर्ने अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत हुने रकम आगामी पुस मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क मिनाहा गरिनेछ । त्यस्तै, दर्ता हुन बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्ति मूल्य अभिवृद्धि करमा दर्ता भई विसं २०८० कात्तिक १ गतेदेखिको मूअकर आगामी असोज मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने ब्याज, जरिवाना र थप दस्तुर मिनाहा गर्ने नीति सरकारले लिएको छ । आय विवरण पेस नगरेका करदातालाई पनि छुटको व्यवस्था आर्थिक विधेयकमार्फत ल्याइएको छ । यसअघिका कुनै पनि आर्थिक वर्षको आय विवरण नबुझाएको भए त्यस्तो विवरण पेस गरी आगामी पुस मसान्तसम्म आयकर बुझाउन सकिनेछ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...