एनएफपिजे नेपालको वार्षिक साधारणसभा तथा १३औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै
वि.सं.२०८१ कात्तिक २४ शनिवार १४:१६
345
sharesकाठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले आज २७औं वार्षिक साधाणसभा तथा १३औं अधिवेशन गर्दैछ । २०५३ सालमा स्थापना भएको यस संस्था देशकै पहिलो र ठूलो फोटो पत्रकारहरुको संगठन हो ।
फोटो पत्रकारहरूको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि संस्था सक्रिय रहेको छ । सोहि अवसरमा संस्थाले आज खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा अग्रज फोटो पत्रकारको उपस्थितिमा एक विशेष कार्यक्रमको आयोजना गरि १३औं अधिवेशन मनाउँदैछ ।
कार्यक्रममा फोटो पत्रकारहरूलाई विभिन्न विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदक, माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार, कार्यसम्पादनको आधारमा संस्थाको अध्यक्षबाट प्रदान गरिने प्रेसिडेन्ट अवार्ड र उत्कृष्ट जिल्ला शाखाको सम्मान गरिनेछ ।
साधारणसभासँगै आज हुने अधिवेशनले १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वमा अध्यक्षमा प्रदीपराज वन्त, वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुशील श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् भने सचिवमा सुनिल शर्मा र प्रविन कुलुङ राईको उम्मेदवारीसँगै निर्वाचन हुने देखिएको छ ।
त्यसैगरी केन्द्रीय सदस्यहरूमा मुकुन्द कालिकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान, सागर बस्नेत र शंकर भुजेल चयन भएका छन् ।
वि.सं.२०८१ कात्तिक २४ शनिवार १४:१६