बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदै

वि.सं.२०७६ कात्तिक ४ सोमवार ०७:५१
1.1K
shares
काठमाडौं: राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नागढुङ्गा-नौबिसे सुरूङमार्ग आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सुरूङ मार्गको मूख्य प्रवेशद्वार(टनेल होल) काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१ दहचोकमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
साढे तीन बर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको आयोजना पुरा हुन २२ अर्ब रुपैयाँ खर्च हुनेछ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो । करिब २२ अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने छ अर्ब रुपियाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ ।
प्रवेश मार्गसहित ५ दशमलब ५६ किलोमिटर सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महवपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । आयोजनाले तोकेको शर्त अनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २ दशमलब ३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि-सिस्ने खोलासम्म सुरुङको लम्बाइ २ दशमलब ६ सय ८८ किलोमिटर चौडाइ ९ दशमलब ५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।

वि.सं.२०७६ कात्तिक ४ सोमवार ०७:५१