सन्दीपविरुद्धको अन्तिम मुद्दाको सुनुवाइ आज पनि भएन
वि.सं.२०८० जेठ १६ मंगलवार १४:२९
2.8K
shares
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन ।
मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो । किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ नगरेका हुन् ।
यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको छ । अब अर्को पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ ।
सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ । अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् ।
दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ । दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बाबे प्रस्थान गर्ने छ । त्यहाँ नेपालले असार ९ गतेसम्म खेल्ने तालिका बनिसकेको छ ।
जिम्बाबेमा नेपालले सुरुमा दुई अभ्यास खेल खेल्नेछ । यूएई र ओमानसँग यसै महिना दुई अभ्यास खेलपछि नेपालको विश्वकप छनोट चरण सुरु हुनेछ । विश्वकप छनोटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स छन् ।
विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ । असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ । समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ । तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाइ लम्बिने छ ।
वि.सं.२०८० जेठ १६ मंगलवार १४:२९



















