गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका रेशम चौधरी रिहा
वि.सं.२०८० जेठ १५ सोमवार १०:४५
2.1K
shares
काठमाडौं: टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी ६ वर्ष पछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरेपछि उनी रिहा भएका हुन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहानै जेलमुक्त भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरी जेलमुक्त हुने भएपछि सो पार्टीका नेता/कार्यकर्तालाई डिल्लीबजार कारागार परिसरमा पुगेका थिए ।
टिकापुर नरसंहारमा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३औं दिनमा चौधरीलाई आममाफी दिइएको हो ।
२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन् ।
उच्च अदालतको सो फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी कानुनतः २०९४ सालसम्म जेल सजायमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ वर्ष अघि नै जेलमुक्त भएका छन् ।
२०७४ फागुनमा पक्राउ परेका उनीमाथि टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बीभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ । उनी २०७४ सालको आमनिर्वाचनमा उनी कैलाली–१ बाट निर्वाचित भएका थिए ।
वि.सं.२०८० जेठ १५ सोमवार १०:४५



















