आज मुस्लिम धर्मावल्बीहरुको चाड इद उल अजहा अर्थात बकर इद विशेष महत्वका साथ मनाइदैं
वि.सं.२०७६ साउन २७ सोमवार ०८:५९
834
sharesकाठमाडौं: आज मुस्लिम धर्मावल्बीहरुको महत्वपूर्ण चाड इद उल अजहा अर्थात बकर इद विशेष महत्वका साथ मनाइदैं छ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।
इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको बताइन्छ । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिखमा भएकाले आजको दिनलाई बकर इदको रुपमा मनाउने परम्परा सुरु भएको बताइन्छ ।
बिहानै स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्ने गर्छन् । नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरान अनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिन दुःखीलाई छुट्याउने परम्परा छ । बकर इदको अवसरमा प्रदेश नम्बर २ र ५ मा सरकारले आज प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ ।
वि.सं.२०७६ साउन २७ सोमवार ०८:५९