माघेसंक्रान्तिको अवसरमा स्वदेशी तथा विदेशी तरुलको माग उच्च, कुन तरुलको मूल्य कति ?
वि.सं.२०७९ पुस ३० शनिवार १२:३२
2.3K
shares
काठमाडौं: माघेसंक्रान्ति नजिकिएसँगै बजारमा कन्दमुलहरु उल्लेख्य रुपमा भित्रिएका छन् । तरुलको पर्व माघेसंक्रान्तिमा स्वदेशी तथा विदेशी तरुलको माग उच्च हुन्छ ।
उपभोक्ताहरुले संक्रान्तिका लागि विभिन्न प्रकारका तरुल, पिँडालु, स्कुसको जरा र सखरखण्ड लगायतका कन्दमुलहरु खरिद गरिरहेका छन् ।
कालीमाटी बजारमा एक साताअघिदेखि स्वदेशी र भारतीय कन्दमुलहरु भित्रिएको र हालसम्म बजारमा करिब १७ सय ३५ टन कन्दमुलहरु भित्रिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।
कालीमाटी बजारको तथ्यांकमा करिब १२ सय ६० टन तरुल भित्रिएको छ । जसमा भारतबाट २२६ टनमात्र तरुल आयात भएको छ भने बाँकी सबै तरुल देशको विभिन्न जिल्लाहरुबाट आएको जनाएको छ ।
हालसम्म आगमन हेर्दा भारतबाट माघेसंक्रान्तिको लागि मागको करिब साढे ८ प्रतिशत मात्रै आयात भएको छ । स्वदेशमा उत्पादित तरुलको हिस्सा ७२.५ प्रतिशत रहेको छ । उपभोक्ताहरुले तराईका जिल्लामा उत्पादित हात्तिपाइले, बन तरुलहरु मन पराउँछन् ।
माघेसंक्रान्तिका लागि भारतबाट आयात गरिएको तरुल स्वदेशीभन्दा सस्तो हुन्छ । भारतीय भन्दा स्वदेशी तरुल प्रतिकेजी १० रुपैयाँदेखि ५० रुपैयाँ महँगो हुने गरेको छ । अहिले बजारमा आयातित भन्दा स्वदेशी तरुल आउने क्रम बढी छ ।
माघेसंक्रान्तिमा नेपालको १५ देखि २० जिल्लाहरुबाट तरुल बजारमा आउने गरेको छ । जसमा सर्लाही, सुनसरी, धादिङ, मकवानपुर, काभ्रे, झापा, चितवन, नवलपरासी, बनेपा, नुवाकोट लगायतका विभिन्न जिल्लाहरुमा तरुलको खेती हुने गरेको छ । कालीमाटी बजारमा माघेसंक्रान्तिका लागि २६२ टन पिँडालु र २१७ टन सखरखण्ड भित्रिएको छ ।
कुन तरुलको मूल्य कति ?
कालीमाटी बजारमा माघेसंक्रान्ति नजिकिएसँगै तरुलको मूल्य पनि बढ्न थालेको छ । प्रतिकेजी ६० देखि ६५ रुपैयाँमा बिक्री भइरहेको तरुल हाल प्रतिकेजी ७० देखि ८० रुपैयाँ भएको छ । यतिबेला देशभर यसको माग हुने भएकोले मूल्य पनि केही बढ्ने गरेको छ ।
हाल बजारमा भित्रिएका तरुलहरुमा सबैभन्दा महँगो वन तरुल रहेको छ । यसको मूल्य प्रतिकेजी १८० रुपैयाँदेखि २०० सय रुपैयाँसम्म छ ।
हात्तिपाइले तरुल प्रतिकेजी ७० देखि ८० रुपैयाँ, पहाडी हात्तिपाइले १०० देखि १२०, रातो तरुल ९० देखि १००, सेतो तरुल ६० देखि ७०, पानी तरुल ५० देखि ६० रुपैयाँ, सिमल तरुल भारतीय ६० देखि ७० रुपैयाँ छ ।
साथै, माघेसंक्रान्तिमा खाइने अर्को कन्दमुल स्कुसको जरा प्रतिकेजी १५० रुपैयाँदेखि २०० सय रुपैयाँसम्म रहेको कालीमाटी बजारले जनाएको छ ।
वि.सं.२०७९ पुस ३० शनिवार १२:३२




















