देशभर आज र भोलि वर्षाको सम्भवना
वि.सं.२०७९ असोज १८ मंगलवार ०८:२६
2.4K
shares
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाद्वारा देशभर आज र भोलि बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।
महाशाखाले बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली हुने जनाएको छ ।
असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।
राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज १९ गते दशैंको टीकाको दिन देशभर बादली हुने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।
यस्तै असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही ढिला गरी बाहिरिने छ ।
वि.सं.२०७९ असोज १८ मंगलवार ०८:२६




















