तीजको बेला पशुपतिको मूल मन्दिर र परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले फोटो खिचे जरिवाना लाग्ने
वि.सं.२०७९ भदौ ११ शनिवार १३:२०
काठमाडौं: हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।
पछिल्लो समय तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवाना सहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाले जानकारी दिएको छ ।
सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।
गर्भगृहको तस्बिर खिचेमा २ हजार १०० रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा १ हजार १०० रुपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको हो ।
पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारी समेत कोषले जानकारी दिएको छ ।
कोषले तीजका दिन यही भदौ १४ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ ।
वि.सं.२०७९ भदौ ११ शनिवार १३:२०