नेकपा विघटन हुनुको मुख्य कारक तत्कालीन अध्यक्ष केपी शर्मा ओली: प्रचण्ड
वि.सं.२०७८ मंसिर ११ शनिवार १३:५९
2.6K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रको ७५३ स्थानीय तहको सम्मेलन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल सम्बोधन गर्दै उद्घाटन गरेका छन् ।
अध्यक्ष प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाए ।
उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु पर्यो भन्ने सम्बन्धमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । मार्क्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।
प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे । उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको बताए ।
प्रतिनिधिसभा विघटन माओवादी आन्दोलनमाथिको हमला भएको पनि प्रचण्डले दाबी गरे । माओवादी आन्दोलनलाई घेराबन्दीमा पार्न ओली प्रवृत्ति अघि बढेकोमा त्यसलाई पराजित गर्न तत्काल आफूहरू विजयी भएपनि त्यो प्रवृत्ति दोहोरिन नदिन एकजुट हुन पर्ने बताए ।
पहिलोचोटिको प्रतिनिधिसभा विघटनविरुद्ध सडकबाट प्रतिवाद गरेको र दोस्रोपटकको प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन बनाएर संसदबाटै प्रतिवाद गरी सर्वोच्च अदालतमा जानु परेको उनले बताए ।
वि.सं.२०७८ मंसिर ११ शनिवार १३:५९




















