आगामी कदमका विषयमा छलफल गर्दै नेकपा संसदीय दलको अन्तिम बैठक सम्पन्न
वि.सं.२०७७ फागुन २३ आइतवार २१:३५
1.3K
shares
काठमाडौं: साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक सम्पन्न भएको छ ।
पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठक भएको र सर्वोच्च अदालतले पार्टी एकता पछिको नाम खारेज गरेर पुरानै अवस्थामा फर्काइदिएपछिको अवस्थाका विषयमा छलफल गर्दै बैठक सकिएको साविक नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनले साविक नेकपाकै संसदीय दलको बैठक बसेको र आगामी कदमका विषयमा छलफल भएको जानकारी दिएका छन् । भट्टराईका अनुसार बैठकमा मुख्य चार विषयमा संसदीय दल निष्कर्षको नजिक पुगेको छ ।
संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा निर्णय गरेको छ ।
यस्तै बैठकले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चाँडो भन्दा चाँडो बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेताहरूको व्यवस्थान गर्ने विषयमा पनि ठोस निर्णय गरेको छ ।
विशेष गरी तत्कालीन नेकपा माओवादीबाट आएका नेताको व्यवस्थापनको कसरी गर्ने भन्नेमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री समेत रहेका दलका नेता केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा हार्दिक शुभकामना दिन गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको साविक नेकपाका सचेतक भट्टराईले जानकारी दिए ।
वि.सं.२०७७ फागुन २३ आइतवार २१:३५



















