उद्योगमा समयानुकूल विद्युत महसुल दर लागू गर्ने तयारी
वि.सं.२०७५ चैत २६ मंगलवार ०८:४९
1K
sharesकाठमाडौं: औद्योगिक करिडोरमा समेत विद्युतभार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत महसुल दर लागू गर्ने तयारी गरिएको छ । विगतमा विद्युतभार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन बढी शुल्क तिरेर उद्योगले विद्युत लिने गरेका थिए ।
घरायसी ग्राहकलाई अँध्यारोमा राखेर नेपाल विद्युत प्राधिकरणले उद्योगलाई विद्युत दिएको भन्दै चर्को आलोचनासमेत भएको थियो । गत बैसाखदेखि औद्योगिक करिडोरमा समेत विद्युतभार कटौतीको अन्त्य भइसकेको छ । विद्युतभार कटौती अन्त्य भएको अवस्थामा विगतकै शैलीमा उद्योगबाट महसुल तिर्ने तथा तिराउनेभन्दा पनि उपयुक्त महसुल दर तय गरी लागू गर्ने योजनामा प्राधिकरण रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
प्राधिकरणको २०७२ साल असार १२ गतेको ७१०औँ सञ्चालक समितिको बैठकले ‘डेडिकेटेड फिडर’बाट विद्युत लिने ग्राहकका लागि प्रिमियम शुल्कसहित नयाँ महसुल दर स्वीकृत गरेको थियो । प्राधिकरणले २०७२ साउनदेखि लागू हुने गरी आन्तरिकरूपमा पत्राचार गरेको थियो । उक्त महसुल दर विद्युत महसुल निर्धारण आयोगको २०७२ पुस २९ गते र माघ १० को बैठकले स्वीकृत गरी कार्यान्वयनमा आएको मितिदेखि नै लागू गरेको थियो ।
वि.सं.२०७५ चैत २६ मंगलवार ०८:४९