जातको नाममा बलात्कार !
वि.सं.२०७७ असोज १४ बुधवार ०९:२९
काठमाडौ : हत्तपत्त हामी यस्तो कुरामा दिमाग नै लगाउँदैनौँ कि, अपराधसँग पनि सामाजिक विभेदमा परेका समुदायको सकारात्मक वा नकारात्मक सम्बन्ध हुँदो रहेछ ।
महान्यायाधिवक्ता कार्यालय, नेपाल प्रहरी र सर्वोच्च अदालतको पछिल्लो अध्ययनले यस्तो देखाएको हो ।
बढ्दो बलात्कार तथा त्यसपछि सिर्जित अन्य अमानवीय घटनाको चपेटामा पर्ने मानिसहरू, अर्थात् पीडितहरूको अभिलेख अध्ययन गर्दा वर्षौंदेखि रुढीग्रस्त मानसिकताका कारण विभेदमा पर्ने दलित समुदायको संख्या बढी छ । भर्खरै बझाङकी १२ वर्षिया सम्झना बिकमाथि त्यस्तो घटना आइलाग्यो ।
दलितमाथि एकातिर छुवाछुतको अत्याचार, अर्कातर्फ पाशविक तवरले गरिने अनेकन जघन्य अपराधको शिकार पनि उनीहरू नै !
यससँगै, अपराध गर्ने कसुरदारमध्ये जातको राष्ट्रिय प्रतिशतमा जनजातिको संख्या बढी भएको सरकारी अभिलेख छ । सामाजिक सुधार वा कानुन सुधार गर्दा यी कुराको विश्लेषण नगरी नहुने अवस्था छ । किन दलितका सन्तान बलात्कृत भए ? बोक्साबोक्सीबाट किन कमजोर वर्ग मात्रै प्रताडनामा परे ? किन आदिवासी, जनजाति समुदायका मानिसमा आपराधिक प्रबृत्ति मौलायो ?
यी कुरालाई दृष्टिगत गरेर दुई वर्षअगाडि मात्रै जारी भएको फौजदारी अपराध संहितालाई सुधार गर्ने बेला भइसक्यो ।
जस्तो कि, एसिड प्रहारका कारण जीवन बाँचे पनि मरेतुल्य भएका पीडितहरूले पुनर्जीवनझैँ अनुभूत गर्ने गरी अस्ति अध्यादेश पाए । तर, सामाजिक अपराध नियन्त्रणका लागि एसिडसम्बन्धी कानुनमात्रै पर्याप्त छैन । त्यसैले अहिले केही नयाँ–नयाँ विषयका कानुनको मस्यौदा कोर्न पर्नेछ । जस्तो कि, बोक्साबोक्सीसम्बन्धी कानुन । भर्खरै बोक्सीका नाममा तराईमा ११ वटा अमानवीय तथा पाशविक घटना भए । त्यसक्रममा सबभन्दा बढी गरिब महिलामाथि प्रताडना भएको छ ।
अर्को हो, एसिडजत्तिकै पेट्रोल, मट्टितेलसहितका रसायनबाट गरिने आक्रमणबाट पीडित हुनेको संख्या बढ्नु । संख्याको हिसाबले एसिडभन्दा अन्य रसायनको प्रयोगबाट हुने अपराधको संख्या बढी रहेको तथ्यांक कानुन मन्त्रालयले संकलन गरेको छ ।
त्यसो त कानुन बनाउँदैमा अपराध घट्ने होइन । बलात्कार गरेर मान्छे मारेको छ भने बाँचुञ्जेल जेल बस्नुपर्छ । तर, समाजमा कानुनबारे थाहा पाई–पाई अपराध गर्ने प्रवृत्ति व्याप्त छ । बझाङ बलात्कार घटनाका दोषी १८ वर्षीय युवकले कानुन थाहा नपाएर बालिकाको बलात्कारपछि हत्या गरेका हैनन् । थाहा पाएरै, शक्ति प्रयोग गरेर जोगिन्छु भन्ने विश्वासका साथ पटक–पटक र फरक–फरक बालिकामाथि त्यस्तो कसुर गरेका हुन् ।
अपराधशास्त्रले अपराध नियन्त्रणको अन्तिम उपाय कानुनलाई मान्दैन । कानुन भनेको अपराधपूर्व सचेतनाको सूचक हो, अपराधपछि दण्डको आधार हो । तर, यो अपराध रोकथामको अचुक विधि होइन । यदि कानुन बनेकै कारण मात्र अपराध नहुने हो भने चीनसहित थुप्रै देशमा भ्रष्टाचार गर्नेलाई फाँसीको सजायँ छ । तर, पनि ती देशमा भ्रष्टाचार शून्यमा पुग्न सकेका छैनन् । आजको जनआस्थाबाट
वि.सं.२०७७ असोज १४ बुधवार ०९:२९