असोज १ गतेदेखि गाडी सडकमा निस्कने व्यवसायीको घोषणा
वि.सं.२०७७ भदौ २४ बुधवार १७:४१
1.7K
shares
काठमाडौँ: सरकारले ६ महिनासम्म कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत बिहीबार औपचारिक निर्णय गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए ।
६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प नदिएको र अब थेग्ने अवस्था नरहेकोले असोज १ देखि गाडी सडकमा निस्कने अधिकारीले बताउनु भयो ।
कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले रूट परमिट, नविकरण शुल्क र बीमाबारेमा सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीले बताए ।
गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएपछि लामो दूरीका सवारी साधन पनि सञ्चालनमा आउने आशा गर्दा गर्दै सरकारले निर्णय नदिदा सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको करोडौँको लगानी जोखिममा परेको व्यवसायीहरूको गुनासो छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार १७:४१



















