नेकपा स्थायी कमिटी बैठक आज बस्दै, सांगठानिक एकताको बाँकी काम सम्पन्न गर्ने, र एमसीसीका विषयमा बैठक केन्द्रित
वि.सं.२०७७ असार १२ शुक्रवार १०:०५
1.2K
sharesकाठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ ।
पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् । यसअघि बुधबारको बैठकले विभिन्न ७ वटा एजेण्डा तय गरेको छ । जसमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।
यसैगरी बैठकमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषयमा समेत छलफल हुने छ । एमसीसीका परियोजना पारित गरिसक्नु पर्ने अन्तिम समय असार १६ रहेको भएपनि अझैसम्म नेकपाभित्रको विवाद सुल्झिन सकेको छैन । नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।
एमसीसी सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र पनि किचलो भइरहेको छ । नेकपाले यसको अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसी परिमार्जन सहित पारित गर्नुपर्ने प्रतिवेदन समेत बुझाइसकेको छ ।
वि.सं.२०७७ असार १२ शुक्रवार १०:०५




















