‘लकडाउन’ लागू भएपछि झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु पूर्ण सञ्चालनमा आए
वि.सं.२०७७ असार १ सोमवार २२:३३
2.2K
shares
काठमाडौं: कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ गते ‘लकडाउन’ लागू भएपछि झन्डै तीन महिनापछि सरकारी तथा निजी कार्यालयहरु पूर्ण सञ्चालनमा आएका छन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहहदरबार र अन्य सरकारी कार्यालयहरुमा पनि चहलपहल बढ्न थालेको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि सोमबारबाट सबै सरकारी कार्यालयहरु दुई ‘सिफ्ट’मा सञ्चालनमा आएका हुन् । सबै सरकारी कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछन् ।
यसअघि, अत्यावश्यक सेवाका कार्यालयहरु सीमित कर्मचारीबाट सञ्चालन गरिएकोमा सोमबारदेखि जनसरोकारसँग सम्बन्धित सबै कार्यालयहरु खुला गरिएको हो । कार्यालयहरु सञ्चालनमा आएपनि सेवाग्राहीको उपस्थिति भने न्यून रहेको पाइएको छ । लामो समयको लकडाउनले अर्थतन्त्रसमेत जर्जर बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । तर, लकडाउन खुकुलो गर्ने र संक्रमणको दर तीव्र हुने समय एउटै परेकाले सेवाग्राही नै सचेत हुनुपर्ने अवस्था छ ।
वि.सं.२०७७ असार १ सोमवार २२:३३




















