आज रंगहरुको सांस्कृतिक पर्व फागुपूर्णिमा प्रेम र सद्भाव साटासाट गरी मनाइँदै, होलीमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
वि.सं.२०७५ चैत ६ बुधवार ०७:५८
3.2K
sharesकाठमाडौं: हिमाली र पहाडी जिल्लाहरुमा आज फागुपूर्णिमा अर्थात होली पर्व मनाइँदैछ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।
बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ ।
होलीको अवसरमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् । होलीलाई मर्यादित र सभ्य बनाउन प्रहरी सक्रिय छ । विगतका वर्षजस्तो यस वर्ष होली पूर्णिमाको एक साता अगाडि देखि नै सडकमा हिँड्नेहरुलाई लोला हान्ने क्रम रोकिएको छ । दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् । छुट्टाछुट्टै सन्देश जारी गर्दै उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने कामना गरेका छन् ।
राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै राष्ट्रपतिले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् । उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले सप्तरंगी जस्तै रंगीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सदभाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’
वि.सं.२०७५ चैत ६ बुधवार ०७:५८