उपत्यकामा तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो, लकडाउनमा उपत्यका छिरेका थिए तीन संक्रमित
वि.सं.२०७७ वैशाख ३१ बुधवार ०७:३९
1.4K
shares
काठमाडौं: मंगलबार साँझ नेपालमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।
संक्रमित हुनेमा पर्सामा सबैभन्दा धेरै १८ जना रहेका छन् जसमध्ये ६ जना महिला तथा तथा १२ जना पुरुषहरु छन् । यस्तै महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना देखिएको छ भने काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो ।
उपत्यकामा भेटिएका तीन जना कोरोना संक्रमित सबै लकडाउनका बेला छिरेको खुलेको छ । ती मध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका-९ की ३३ वर्षिया महिला छन् । काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ । लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन् ।
काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । स्वास्थ्यकर्मीहरुको टोलीले उनलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याएर भर्ना गरेका छन् । यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९, गते नै काठमाडौ आएको खुलेको छ । उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन् ।
काठमाडौं आइसकेपछि ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ । भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको स्वास्थ्य मन्त्रलायल स्रोतले बताएको छ । केहीदिन अगाडि काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए । त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार ०७:३९



















