‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ नाराका साथ क्यान्सर दिवस मनाइयो, ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट

वि.सं.२०८० माघ २१ आइतवार १५:०८
1K
shares
काठमाडौं: विश्व क्यान्सर दिवसविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको छ । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
२०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशब डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए ।
दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सरोकारवाला सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।
अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । विश्वको तथ्यांक अनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । एकतिहाइ कारक तत्वहरुमाध्ये सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।

वि.सं.२०८० माघ २१ आइतवार १५:०८