रेष्टुरेण्ट जानेहरुलाई कोभिड–१९ संक्रमणको सम्भावना बढी
वि.सं.२०७७ असोज ८ बिहीवार १३:१०
1.8K
shares
एजेन्सीः अमेरिकाको सिडिसी अर्थात् सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको एउटा नयाँ अध्ययनले देखाए अनुसार, अमेरिकामा कोरोनाभाइरस पोजेटिभ देखिएका अधिकांश मानिसहरुमध्ये रेस्टुरेण्टतिर गएर खानेहरु देखिएका छन् ।
उनीहरुमध्ये अधिकांश पछिल्ला चौध दिनमा रेष्टुरेण्ट गएकाहरु रहेका छन् । अमेरिकाका ११ वटा स्वास्थ्य सेवा प्रदायक स्थानहरुमा लक्षणसहितका कोभिड–१९ का विरामीहरुमा गरिएको अनुसन्धानमुलक अध्ययनले सो कुरा देखाएको हो ।
अनुसन्धानकर्ताहरुले खाने र पिउने सुविधा प्रदान गर्ने त्यस्ता स्थानमा जानेहरुमा कोभिड– १९ पोजेटिभको संक्रमण बढी देखिएको पाए । रेस्टुराँमा गएर खाँदा मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सहज हुँदैन ।
यो स्थितिमा ग्राहक, कर्मचारी तथा समुदायलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन अतिरिक्त प्रयासहरुको जरुरत पर्छ । कर्मचारीहरु विरामी हुँदा उनीहरुलाई घरमा बस्न प्रोत्साहित गर्ने तथा काममा सक्रिय छँदा रोजगारदाताले उनीहरुलाई बेलाबेलामा हात धुन तथा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने गर्नुपर्छ ।
ग्राहकलाई पनि खानेकुराहरु पुर्याइदिने वा लिन सकिने व्यवस्थाका बारेमा जानकारी दिनुपर्छ । खासगरी, मानिसहरुले पनि मानिसको भीडभाड भएका रेस्टुरेण्टहरुमा जानबाट पन्छिनुपर्छ ।
भिडभाडयुक्त ठाउँहरु कोरोनाभाइरस संक्रमणको हटस्पट रहेको तथ्यांकहरुले देखाएका छन् । कतिसम्म भने पूर्ण क्षमताको २५ देखि ५० प्रतिशत मात्रै भीडभाड छ भने पनि त्यहाँ कोरोनासंक्रमणको सम्भावना बढेर जान्छ ।
सो अध्ययनमा ८०२ जना सहभागी रहेका थिए । अध्ययनका दौरानमा सहभागीहरुबाट भौगोलिक जानकारीहरुका अलावा सहभागीका अन्य विभिन्न गम्भीर खालका रोगजन्य अवस्थाका बारेमा पनि तथ्यांक संकलन गरिएको थियो ।
सहभागीहरुलाई उनीहरुले भोगिरहेका लक्षणहरुका बारेमा पनि जानकारी दिन भनिएको थियो । साथै, कोभिड–१९ का रोगीहरुसँगको निकट सम्पर्कका अलावा उनीहरुले काम गर्ने स्थानको बारेमा, मास्क लगाउने अभ्यासका बारेमा र लक्षण देखापर्नुअघि उनीहरुको सामुदायिक गतिविधिहरुका बारेमा समेत जानकारी संकलन गरिएको थियो ।
त्यसरी संकलन गरिएका तथ्यांकहरुबाट अनुसन्धानकर्ताहरुले २२५ जना सहभागीलाई छनौट गरेका थिए । त्यसरी छनौट गरिएका सहभागीहरु पछिल्लो पटक कोभिड– १९ का ज्ञात रोगीसँगको सम्पर्कमा आएका थिएनन् ।
यस समूहका अधिकांश सहभागीहरु रेष्टुरामा गएर खानेहरु थिए । रेष्टुरा वा कफी सपमा जाने गरेका भनी उल्लेख गरेका सहभागीहरुले आफूहरुले मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखेको कमैले उल्लेख गरेका थिए ।
विभिन्न प्रकारका गतिविधिहरुले कोभिड– १९ वा सार्स–कोभ– २ को संक्रमणको सम्भावना कसरी बढाउँछ भन्नेबारेमा थप अनुसन्धान गरिनुपर्ने कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् ।
वि.सं.२०७७ असोज ८ बिहीवार १३:१०




















