कोरोना भाईरसका कारण इटालीमा एकै दिन १३३ जनाको मृत्यु
वि.सं.२०७६ फागुन २६ सोमवार ०९:१३
1.1K
shares
एजेन्सीः कोरोना भाइरसको संक्रमणबाट इटलीमा एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण इटलीमा अहिलेसम्म ३ सय ६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुको संख्या पनि एकै दिनमा २५ प्रतिशतले बढेको छ । ७ हजार ३ सय ७५ व्यक्ति कोरोना संक्रमणको मारमा परेका छन् ।
प्रकोप नियन्त्रणका लागि सरकारले कडा खालको सावधानी अपनाए पनि संक्रमित व्यक्तिहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका १४ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गरिएको छ । पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ । इटलीले ७ हजार ३ सय १३ जना संक्रमित देखिएको दक्षिण कोरियालाई उछिनेको हो । इटलीमा पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन् ।
नयाँ क्वारेन्टाइनका कडा नियमले इटलीको एक चौथाइ जनसंख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन् । यसैबीच बेलायतले आफना नागरिकहरुलाई इटली भ्रमणमा रोक लगाएको छ । कोराना संक्रमणका कारण हालसम्म विश्वभर ३ हजार ६ सय जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ७ हजार पुगेको छ ।
वि.सं.२०७६ फागुन २६ सोमवार ०९:१३



















