भारतमा लोकसभा चुनाव आजबाट सुरु
वि.सं.२०७५ चैत २८ बिहीवार १२:२६
858
sharesकाठमाडौं: विश्वकै ठूलो चुनावी अभ्यास मानिने भारतीय लोकसभा चुनावको पहिलो चरणको मतदान आजबाट सुरु भएको छ । पहिलो चरणमा देशभरका २० राज्य र केही केन्द्र शासित प्रदेशगरी ९१ निर्वाचन क्षेत्रमा निर्वाचन सुरु भएको हो । संसद्को तल्लो सदन लोकसभाका लागि ७ चरणमा हुने मतदान मे १९ सम्म चल्नेछ। तर, मतगणना भने मे २३ बाट सुरु हुने बताइएको छ ।
९० करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई अहिलेसम्मकै ठूलो मानिनुका साथै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता जाँच्ने कडीका रुपमा समेत हेरिएको छ । प्रधानमन्त्री मोदीले पहिलो चरणमा हुन लागेको चुनावबारे ट्विटरमार्फत प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो मताधिकारका लागि निर्वाचनमा सहभागी हुन पहिलो पटक मतदान गरिरहेका युवा मतदातालाई आग्रह गरेका छन् ।
पहिलो चरणको चुनावमा केही मुख्यमन्त्री चुनाव लडिरहेका छन् भने केही केन्द्रीय मन्त्री पनि यसमा संलग्न छन् । विभिन्न पार्टीका केही वरिष्ठ नेताले पनि आफ्नो राजनीतिक भविष्य दाउमा राखेर पहिलो चरणको निर्वाचनमा भाग लिँदैछन् ।
वि.सं.२०७५ चैत २८ बिहीवार १२:२६