विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो, १ सय ९७ देशमा संक्रमण
वि.सं.२०७६ चैत १२ बुधवार ०७:३८
1.1K
shares
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १० पुगेको छ भने ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ ।
संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १ सय ९७ देशमा पुगेको छ । वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित छन् ।
यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ७ सय ४३ को यो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाकै कारण इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।
त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ९ हजार ८ सय ७५ मा नयाँ संक्रमणदेखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ ।
वि.सं.२०७६ चैत १२ बुधवार ०७:३८



















