रामेछाप सांस्कृतिक कलाकार समाजले ‘कल्याणकारी कोष’ स्थापना गर्न आज सांस्कृतिक कार्यक्रम गर्दै
वि.सं.२०८० वैशाख ९ शनिवार ०९:३९
4.3K
shares
काठमाडौं: रामेछाप सांस्कृतिक कलाकार समाजले ‘कलाकार कल्याणकारी कोष’स्थापना गर्न आज बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आज दिउँसो काठमाडौंस्थित चक्रपथमा रहेको अरिकल ईभेन्टमा हुने सांस्कृतिक कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लाबासी कलाकारको हितमा कल्याणकारी कोष स्थापनाका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्कीले भने, ‘नयाँ वर्षको अवसरमा आज सांस्कृतिक कार्यक्रम गर्न लागेका छौं । आज नयाँ वर्षको शुभकामना आदानप्रदान, रामेछापबाट निर्वाचित सांसदलाई सम्मान, स्रष्टा सम्मान, संस्थागत कलाकारलाई सम्मान पनि गर्नेछौं ।’ उनले कला, साहित्य र सूचना एक आपसमा अपरिहार्य भएकाले सहकार्य गर्न सबैलाई आग्रह गरे ।
सांस्कृतिक कार्यक्रमबाट उठेको रकमलाई कल्याणकारी कोषमा राखिने उनको भनाई छ । कार्कीले भने, ‘हामी कार्य समिति र सदस्यबाट पनि कोषका लागि रकम उठाउँछौं । अन्य दातासँग पनि सहयोग जुटाउन लागि पर्छौं ।’
जिल्लाबासी कलाकारलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले हाललाई कम्तिमा ५ लाखको कोष स्थापना गर्न लागिएको पूर्व अध्यक्ष रामकुमार पौडेलले जानकारी दिए । उनले ‘कलाकार कल्याणकारी कोष’मा रकम संकलन हुन थालिसकेको बताए । कलाकार कल्याणकारी कोष सञ्चालनको लागि नियमावली बनाएर अगाडि बढ्ने उनको भनाई छ ।
नेपाली कला क्षेत्रको विकास र प्रवर्द्धनमा लामो समयदेखि कलाक्षेत्रको श्रीवृद्धिमा योगदान गर्दै आएका कलाकार अति समस्यामा परेको समयमा आवश्यक सहयोग गरिने संस्थाले जनाएको छ । सानो रकमबाट कोष स्थापना भएपनि भविष्यका लागि कलाकारका लागि कोष लाभदायक बन्ने उनको भनाई छ ।
कार्यक्रममा रामेछाप–काठमाडौं पत्रकार समाज मिडिया पार्टनर रहेको छ । रामेछाप सांस्कृतिक कलाकार समाज वि.सं. २०६६ सालमा स्थापना भएको हो । संस्थाका रामेछापका ८ वटै स्थानीय तहमा समन्वय समितिसमेत रहेका छन् ।
वि.सं.२०८० वैशाख ९ शनिवार ०९:३९




















