राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा दूधको मूल्य बढाउन सिफारिस
वि.सं.२०७८ पुस २८ बुधवार ११:५५
1.8K
shares
काठमाडौं: राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपैयाँ बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।
बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाउन प्रस्ताव गरेको हो ।
बोर्डले सिफारिस गरेको मूल्यमा सरोकारवालाहरूसित छलफल गरी मूल्य निर्धारण गरिने कृषिमन्त्री महिन्द्रराय यादवले बताए ।
विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि गरेको सिफारिस समितिले जनाएको छ ।
आर्थिक वर्ष २०६७/६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो ।
२०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो ।
वि.सं.२०७८ पुस २८ बुधवार ११:५५




















