मेगा बैंक लिमिटेडले बोलायो पुस ७ गते १२औं वार्षिक साधारण सभा
वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:०६
काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले पुस ७ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ७ दशमलव ७९ प्रतिशत लाभांशलाई समेत वितरण योग्य बनाउनेछ ।
यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकले बोनस शेयर वापत ६४ करोड ४८ लाख १८ हजार ४५८ र नगद लाभांश वापत ६१ करोड २ लाख ४३ हजार २८० वितरण गर्न लागेको हो ।
उल्लेखित प्रस्ताव सहित सभाले मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा रहेका छन् । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गरेको छ ।
बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार १२:०६