उद्यमी बन्न चाहने युवाहरुका लागि नवप्रवद्र्धन प्रस्ताव आह्वान
वि.सं.२०७७ कात्तिक ६ बिहीवार ११:३३
1.8K
shares
काठमाडौं: बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा उद्यमी बन्न चाहने युवाहरुका लागि नवप्रवद्र्धन प्रस्ताव आह्वान(स्टार्ट अप आईडिया कल) आयोजना गर्ने भएको छ ।
बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंक मार्फत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने भएको छ । यस कार्यक्रम मार्फत प्रवाह गरिने कर्जा न्युनतम एकदेखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनु भयो ।
ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निःशुल्क रुपमा तालीम प्रदान र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक वर्षमा एकसय भन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री अरुण नेपालले विश्वास व्यक्त गर्नुभएको छ ।
नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर अल्मलियका युवाहरुलाई निःशुल्क रुपमा सरकार, निजी क्षेत्र सहितको साझेदारीमा नयाँ युवा उद्यमीको प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह सहितको पूर्ण प्याकेज कार्यक्रम डिजाइन गरिएको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले बताउनु भयो ।
समझदारी अनुसार मङ्सिर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
वि.सं.२०७७ कात्तिक ६ बिहीवार ११:३३



















