एनआईसी एशिया बैंकको डिजिटल दक्षिणा योजना
वि.सं.२०७७ कात्तिक ५ बुधवार १६:२१
1.9K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहन स्वरूप डिजिटल दक्षिणा योजना ल्याएको छ ।
यस योजना अन्तर्गत दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ् मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गर्ने बैंकले जनाएको छ ।
बैंकमा आवद्ध ग्राहकहरूलाई विजया दशमी टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत मोबाईल बैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबाईल बैंक एपमा रहेको डिजिटल दक्षिणामा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कसमा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १६:२१




















