नबिल बैंककाे अध्यक्ष पदमा उपेन्द्र पौड्याल नियुक्त
वि.सं.२०७७ असोज २० मंगलवार २३:२५
2K
shares
काठमाडौं: नबिल बैंककाे अध्यक्ष पदमा उपेन्द्र पौड्याल नियुक्त हुनु भएकाे छ । बैंककाे मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकर तथा समाज सेवी उपेन्द्र पौड्याललाई नयाँ अध्यक्षमा नियुक्त गरेको हाे ।
पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि पौड्याल २०७४ मंसिर १५ गते सञ्चालकको रूपमा नबिल बैंक प्रवेश गर्नु भएकाे थियाे । बैंक प्रवेश गरेकाे करिब तिन वर्षमा पौड्याल अध्यक्ष नियुक्त हुनु भएकाे हाे ।
बैंककाे सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ ।
नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर शुरु गरेका शम्भुप्रसाद पौड्याल सर्वसाधारण शेयरधनी तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान र उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ ।
यसैगरी, दयाराम गोपाल अग्रवाल २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीकातर्फबाट सञ्चालक नियुक्त भएका थिए । अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहरहेका थिए ।
सन् १९८६ बाट उपेन्द्र पौड्यालले स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) बाट बैंकिङ करिअर शुरु गर्नुभएको थियो । त्यहा १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएम बीफाइनान्समा पुगेका थिए । उनले एनएमबी बैंक लिमिटेडमा १७ वर्ष अनवरत सेवा गर्दै बैंककाे संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहाल्नु भएकाे थियाे ।
होटलबाट व्यावसायिक करिअर शुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे ।त्यसपछि स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) बाट बैंकिङ करिअर शुरु गरेका पौड्यालले १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंक सहित तीनदशक भन्दा बढी (३४ वर्ष) बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएकाे छ ।
पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष समेत रहनु भएकाे थियाे । पौड्याल समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आइरहनु भएकाे छ ।
वि.सं.२०७७ असोज २० मंगलवार २३:२५



















