नेपाल टेलिकमद्वारा ग्राहकका लागि विभिन्न अफरहरु उपलब्ध
वि.सं.२०७७ साउन २ शुक्रवार १७:५९
1.5K
shares
काठमाडौं: नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ ।
यी अफरहरु साउन १ गतेबाट नै लागु भएका छन् । फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ ।
यस अन्तर्गत डाटा प्याकमा २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएको छ । जसमा २० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ । त्यस्तै ५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको रु. ५४०० र १२ महिनाको रु. २१,६०० मा उपलब्ध हुनेछ ।
कम्बो प्याक अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् । जसमा १५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको रु. ३,००० र १२ महिनाको रु. १२,००० मा उपलब्ध हुनेछ । यसैगरी २५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको रु. ४,५०० र १२ महिनाको रु. १८,००० मा उपलब्ध हुनेछ । ६० एमबीपीएसको एक महिनाको प्याक रु. २०००, तीन महिनाको रु. ६,००० र १२ महिनाको रु. २४,००० मा उपलब्ध हुनेछ ।
प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ ।
यस्तै पोस्टपेड मोबाइलमा साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको रु. ५०० स्वामित्व शुल्क अब नलाग्ने भएको छ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ ।
हाल नयाँ सिमकार्ड लिनका लागि रु. ९४५ लाग्ने गरेकोमा अब रु. ५०० मा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ ।
यसमा रु. ५ सयमा खरिद गरिने पोस्टपेड मोबाइलमा रु. ४६० क्रेडिट लिमिट रहने छ । पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ ।
पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् । यस अन्तर्गत बेसिक प्याक रु. ३८४, प्रिमियम प्याक रु. ७४९, गोल्ड प्याक रु. ९९९, डायमन्ड प्याक रु. १४९९ र प्लाटिनम प्याक रु. २४९९ मा खरिद गर्न सकिन्छ ।
यी प्याकहरु ‘नेपाल टेलिकम एपु प्रयोग गरेर तथा *1415# डायल गरेर पनि प्राप्त गर्न सकिने छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्कः उपलब्ध हुनेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिनेछ ।
वि.सं.२०७७ साउन २ शुक्रवार १७:५९




















