बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई नवलपरासी लगिदै

वि.सं.२०७९ वैशाख ७ बुधवार १०:५८

काठमाडौं: नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई आज नवलपरासी लगिदैछ ।
जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएपछि नायक शाहलाई त्यता लैजान लागिएको हो ।
त्यहाँ पनि ती नावालिगले आफूमाथि बलात्कार गरेको भन्दै पलविरुद्ध बलात्कार मुद्दा दिएकी थिईन । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदैछ ।
यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो ।
जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ । साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जनाएको छ ।
यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो ।
मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् । त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ । यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए । पीडित नाबालिग भएकाले त्यतिबेला पनि उनलाई संरक्षकका रुपमा साथै राखिएको हो ।
बुबासँगै हुँदा पीडित नाबालिगले पलले बलात्कार नगरेको बयान दिइन् । मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो । अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् ।
यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुको उक्साहटमा उजुरी हालिएको उनीहरुले बताए । यससँगै फैसला प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
अदालतले आफैं गराएको बयानलाई विशेष प्रमाणका रुपमा लिन्छ । तर केही घटनामा पीडितले इन्कार गरे पनि अदालतले दोषी ठहर गरेका उदाहरण पनि छन् ।
यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितलाई नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ । हाल अध्यादेशमार्फत ल्याइएको फौजदारी संहिताअनुसार पीडितलाई हुने न्यूनतम सजायको आधा सजाय पीडितलाई हुन सक्ने व्यवस्था छ ।
तर पीडित नाबालिग भएकाले त्यसको पनि दुई तिहाई मात्रै सजाय हुन सक्ने व्यवस्था छ । अदालतले दुवैलाई सफाइ दिन पनि सक्ने छ ।
अहिले पलको मुद्धालाई लिएर विभिन्न खालको अडकलबाजी गर्न थालिएको छ । यसअघि पनि यस्तै घटना भएको थियो ।
पूर्वसभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीले पहिले यस्तै मुद्धा दर्ता गराएर फेरी पछि र्फिता लिएकी थिईन । अहिले उक्त मुद्धामा सफाई पाएर महरा नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् भने रोशनी गुमनाम रहेकी छिन ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १०:५८