प्रतिनिधिसभा बैठक बस्दै कोरोनाविरुद्ध र कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव पेश हुँदै
वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:५८
1.1K
shares
काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज कोरोना भाइरसविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छ ? अस्पतालको अवस्था के छ ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले यस विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । प्रस्तावको पक्षमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नेछन् ।
बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ । सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी सरकारलाई निर्देशन गरेकाले कुटनीति र अन्य पहलकदमी गरी नेपालको भू-भाग कायम गर्न प्रस्ताव दर्ता गरिएको हो ।
बैठकमा आज केही विधेयकहरु पनि पेश हु्नेछन् । संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइनेछ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संघीय संसद सचिवालयले जनाएको छ ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:५८



















