YouTube Link

बीपी विचारको मृत्यु

World Cup 2026
Facebook Link

उपमाबाट प्रसंग थालौं । एउटा बौलाहा मेरो घर अगाडिको सडकमा सँधै दौडधुपमा हुन्छ । झमझम पानी पर्दा रूझ्दै, टन्टलापुर घाम लागे पसिना पुछ्दै वा कठाङ्ग्रीने जाडो भएपनि ऊ एउटा गह्रौं–लाग्ने कुम्लो बोकेर एक्लै फतफताउँदै कतै पुग्ने चटारोमा हिँडिरहेको हुन्छ । अरूले उसलाई जेसुकै ठानुन, यो समाज वा शहर प्रलयमा परोस् वा उँभो लागोस् उसलाई किञ्चित परवाह हुँदैन ।

उसको अर्धचेतन मनले सँधै एउटा भारी बोक्नुपर्ने ठहराउँछ, जसको सामान्य मानिसको लागि कुनै मूल्य छैन । यो घनचक्करले उसलाई कहिल्यै छोडेको छैन । मानसिक सन्तुलनजन्य यस्तै प्रवृत्ति म आजकाल सत्ताका कर्णधार हौं भन्ठान्नेहरूमा प्रतिबिम्बित भएको देखिरहेको छु । उसका अनुहारमा हाम्रा नेताहरूको चेहरा झल्किन थालेको छ । बीपी र पुष्पलालका पार्टीहरूका उत्तराधिकारी नेताहरू आज कस्ता भइसके त !

मुखमा जे आउँछ, फतफताइदिने आजका नेताजस्तो हुनुहुन्नथ्यो बीपी । नसोची नबोल्ने र बोलेको कुरा शाश्वत सत्यमा आधारित हुनुपर्छ भन्ने मान्यताबाट उहाँ कहिल्यै चुक्नुभएन । कुनै कुरा सार्वजनिक गर्नुछ भने उहाँ एउटा कुरामा ध्यान दिन कहिल्यै चुक्नुभएन कि आफुले बोेल्ने कुरामा मुलुक र जनताको हित लुकेको हुन्छ हुँदैन । अतार्किक बकवास र जनहित वा राष्ट्रहितको सवालबाट च्यूत भएर उहाँले कहिल्यै बोल्नुभएन । आप्mना विचार राख्दा सैद्धान्तिक आलोचना बाहेक ओठे जवाफ र ठाडो गाली उहाँले कहिल्यै प्रयोग गर्नुभएन ।

जहाँ धम्कीको बोलवाला हुन्छ, त्यहाँ विचारको विजोग हुन्छ । बीपी भन्नुहुन्थ्यो, ‘सत्यको मुख थुनिदियो भने मिथ्याको थुतुनो उघ्रिन्छ ।’ अर्थात मिथ्याको थुतुनो उघ्रिएको ठाउँमा सत्यको हत्या हुन्छ । अपराध प्रवृत्तिबाट निर्देशित राजनीति कदापि सदाचारी हुँदैन । जुन पार्टीमा उसैको इतिहासको कसीले खारिएका विचारधारा, नीति र सिद्धान्तकै हत्या हुन्छ, त्यस पार्टीको भविष्य बाँकी रहँदैन । आजको नेपाली कांग्रेसमा त्यस्तो भवितब्य उत्पन्न भइसकेको छ । कांग्रेसको नियति प्रजा परिषदकै जस्तो होला भन्ने डरको चिसो यसका कतिपय चेतनशील कार्यकर्तालाई पर्नथालेको देखिन्छ । त्यो डर जनताका कारणले उत्पन्न भएको होइन नेता र उनीहरूको जुँगाको लडाईका कारण भएको हो ।

पशुपति शर्माको व्यंग्य–गीत ‘लुट्न सके लुट कान्छा…’ले आज यत्रो चर्चा र वाहवाही किन पायो भने नेताहरूको चरित्रले ल्याएको दुरावस्था त्यो गीतले समेटेको छ । झट्ट सुन्दा त्यस गीतले देशमा लुट खसोट मच्चाउन हौसला दिएजस्तो लाग्छ । तर गहिरो अर्थमा बुझ्ने हो भने सत्तामा बसेका र बसिसकेका सबै पार्टीको चरित्र र हर्कतलाई यसले घतलाग्दो प्रकारले कभर गरेको छ । पार्टी वा नेता मात्र होइन, डाक्टर, निर्माण ब्यवसायी, शिक्षक, कर्मचारीदेखि ट्राफिक व्यवस्थासम्मको विकृति र विसंगतिलाई हिट गरेको छ । सिद्धान्तहिनता र भ्रष्टाचारले जर्जर बनाएको आजको अवस्थालाई चित्रण गर्न यस गीतले सफलता पाएको छ । वास्तबमा अहिलेको राज्य र व्यवस्थाप्रति जनताको भावना मुखरित गर्नमा यही गीत पूर्णसफल छ ।

शेरबहादुर देउवा जब मञ्चमा उभिएर बोल्न थाल्छन, उनी पार्टीका योजना, लक्ष्य, नीति र सिद्धान्तबारे केही बोल्नुहुन्न । पार्टी–सभापतिले त सिङ्गो पार्टीको साझा आवाज बोल्नुपर्ने हो । कांग्रेसको राजनीतिक जीवनमा इतिहासका कतिपय सन्दर्भ प्रकारान्तरले दोहोरिएर आएको पाइन्छ । त्यो अवस्थामा बीपी, गणेशमानजी, सुवर्णजी, सूर्याबाबुजस्ता राजनेताले कसरी समस्याको निराकरण गरेका थिए भन्ने सवालमा आजका पार्टी सभापतिलाई ती सन्दर्भ र समाधानमा अपनाइएका उपाय खोज्न मतलब नै छैन । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउबाले बीपीको नाम र सन्दर्भ लिएर उहाँसँग आफ्नो सान्निध्यका प्रेरक प्रसङ्ग सुनाएको मैले अपवादका रूपमा पनि थाहा पाएको छैन । उहाँको अधिकांश समय ‘ओली सरकार अधिनायकवादतिर गयो’ भन्ने हास्यास्पद बकवासमा खेर जाने गरेको छ । के कांग्रेस हुनुको अस्तित्व र सार्थकता कसैको प्रतीक्षामा अमूल्य समय खेर फालेको भरमा पूरा हुन्छ र !

सत्तारुढ नेकपा कुनै उँभो लागेको शक्ति होइन आफ्नो विगतले भविष्य मासिसकेको र वर्तमानमा पतनतिर धकेलिएको झुण्ड हो । उसले आफ्नै पार्टीमा सहमति र एकता कायम गर्न नसकेर ओली, नेपाल र प्रचण्डका ३ गुटमा विभाजित भएको छ भने त्यस्तो पार्टीले सहमतिको हठ लगाउनु कति सुहाउँदो होला ? पार्टीका द्वयम दर्जाका नेताले बोल्ने भाषा देशको प्रधानमन्त्री र पार्टीको सर्वोच्च पदाधिकारीले बोल्नु कुरीकुरी लाग्दो सुनिन्छ । ‘खत्तम’को विरोध नै ‘उत्तम’को प्रमाण होइन, लोकतन्त्रको रित्तो ढ्वाङ् भएको सवुतचाहिँ हो ।

कांग्रेसका लागि जनतामा पुग्ने वैचारिक राजमार्ग बनाउनुका साथै पार्टीका जरा समाजमा गहिरोसम्म पु¥याउने काम बीपी कोइरालाले गर्नु भएको हो । सुवर्णजी, गणेशमानजी, किसुनजी, सूर्याबाबुले पनि पार्टीमा कालजयी विचार प्रतिपादन गर्नुभयो, तर वीपीको हाराहारीमा आउनसक्ने अर्को नेता कांग्रेसमा त के नेपालका कुनै पार्टीमा जन्मेनन् । तर बिडम्बना ! बीपीका विचारधाराको तेजोवध गर्ने काम पार्टी्भित्र कार्यरत उहाँकै परिवारजनबाट भयो । यसमा सबैभन्दा ठूलो ‘कीर्तिमान्’ गिरिजाबाबुले स्थापित गर्नुभएको छ । अहिले आएर बीपीलाई उपेक्षा तथा विस्मृतिमा पु¥याउने कसरत शेरबहादुर देउबाले गरिरहनु भएको छ । यस्तै हो भने कुनैदिन यस्तो नौवत नआओस् कि कांग्रेस हूँ भन्ने आगामी पुस्ताले बीपीको तस्बीर हेरेर ‘यो बूढो पनि कांग्रेसमै थियो ?’ भनी प्रश्न नगरोस् ।

बीपीले कांग्रेसलाई जनताका वीच क्रियाशील हुने वैचारिक र प्रजातान्त्रिक संस्कारयुक्त कार्य्दिशा सिकाउनु भयो । पार्टीको मध्यमार्गी यात्रा र जनताको उच्चतम हितजन्य गन्तब्य तय गर्नुभयो । राजतन्त्र, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संविधान, दक्षिण एशियामा नेपालको भूमिका, राजनीतिक कार्यकर्ताको जनतामा भूमिका, विदेशी खतरा, उग्रवाद, अधिनायकवाद, अर्थतन्त्रको ढाँचा, विरोधी पक्षसँगको सम्बन्ध भारत, चीन, साहित्य, कला, धर्म, संस्कृति, आदि यावत पक्षमा उहाँले सुस्पष्ट विचारधारा छोडेर जानुभएको छ ।

मुखमा जे आउँछ, फतफताइदिने आजका नेताजस्तो हुनुहुन्नथ्यो बीपी । नसोची नबोल्ने र बोलेको कुरा शाश्वत सत्यमा आधारित हुनुपर्छ भन्ने मान्यताबाट उहाँ कहिल्यै चुक्नुभएन । कुनै कुरा सार्वजनिक गर्नुछ भने उहाँ एउटा कुरामा ध्यान दिन कहिल्यै चुक्नुभएन कि आफुले बोेल्ने कुरामा मुलुक र जनताको हित लुकेको हुन्छ हुँदैन । अतार्किक बकवास र जनहित वा राष्ट्रहितको सवालबाट च्यूत भएर उहाँले कहिल्यै बोल्नुभएन । आफ्ना विचार राख्दा सैद्धान्तिक आलोचना बाहेक ओठे जवाफ र ठाडो गाली उहाँले कहिल्यै प्रयोग गर्नुभएन । बीपीका बारेमा यस्ता धेरै सन्दर्भ र प्रसङ्ग छन् कि कांग्रेसले उहाँका विचारधारका बारेमा निरन्तर बहस चलाइरहन सक्छ । अनुसन्धान र विश्लेषण भइरहनु पर्ने हो । तर वैचारिक राजनीति पार्टीभित्र शून्यप्रायः भइसकेको छ ।

कांग्रेस हुनलाई बुद्धि नचाहिनेजस्तो भइसक्यो । विचार र बुद्धि हुनु नै अभिशापजस्तो हुँदैछ र इमानदार तथा निष्ठावान् कार्यकर्ता हुनु बेवकुफ हुनु हो भनी हालै एक कांग्रेसजनले निराशाका सुस्केरासँग तीतो अनुभव पोखे । यस्तो धुन्धुकारी चरित्र पार्टीमा हौसिनुको कारण चिन्तनहिनता र पार्टी्भित्रै बीपीवादको हत्या हो । ‘आफ्नै लाशको मलामी जाने’ भनी गीतको अर्थ कांग्रेस नै भइरहेको त छैन ? त्यस पार्टीका कार्यकर्ताहरूले आफैलाई छाम्ने बेला आएको देखिन्छ । ‘बीपीका विचार आज पनि उत्तिकै सान्दर्भिक छन’ भन्ने कांग्रेस नेताहरू ‘उहाँका सपना साकार पार्छौ’ चाहिँ किन भन्दैनन् ? यही प्रश्नमा बीपी बारे कांग्रेस नेताहरूको नियत उदाङ्गिन पुग्छ ।

आजको नेपाली कांग्रेस बीपीले दिएको मार्गदर्शनबाट च्यूत भएको छ । उहाँले बसालेका अनुकरणीय परिपाटी र संस्कारलाई पनि त्यस पार्टीले निर्ममताका साथ तोडेको छ । त्यही कारण हो पछिल्लो जनआन्दोलन यताको राजनीतिमा कांग्रेसले लगातार अभूतपूर्व धक्का ब्यहोर्नु परिरहेको छ । गतसाल भएका तीन तहका निर्वाचनमा त कांग्रेसको हुर्मत नै गुमाउने काम नेतृत्वका कारणले भएको छ । यसको क्षतिपूर्ति हुन त्यस पार्टीले अर्को बीपी कोइराला नै जन्माउनु पर्छ । बीपीले देखाएको बाटोमा कांग्रेसले आफुलाई फर्काउन सक्यो भने त्यो नै बीपीप्रतिको सच्चा श्रद्धाञ्जली र पार्टी तथा तमाम प्रजातन्त्रवादीप्रति न्याय हुनेछ ।

लेखक नेपालवहसडटकमका प्रधानसम्पादक हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...