चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क
वि.सं.२०८३ साउन २४ आइतवार १२:०१
4.9K
shares
गत आर्थिक वर्ष २०८२/०८३ को शुरूवातमै अर्थात् भदौ २३-२४ (२०८२) मा सुशासनका निम्ति युवा पुस्ताले गरेको प्रदर्शनमा जनको थप क्षति हुन नदिन नेपाल प्रहरीले जुन संयमता अपनायो, त्यसको फलस्वरूप उसैले बढी क्षति व्यहोर्नुपर्यो । खाने गाँस, बस्ने बास र लगाउने कपडा जलेर खरानी हुँदासमेत त्यही खरानी टकटक्याउँदै उठेको नेपाल प्रहरीले सुदृढ शान्ति-सुव्यवस्था, सुरक्षित देश र भयमुक्त देशबासीका निम्ति कानूनी राज्यको परिपालनामा आफ्नो तर्फबाट गर्नुपर्ने काम-कर्तव्य र अधिकारमा कुनै कमी आउन नदिएको तथ्यांकहरुले देखाएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सञ्चारकर्मीहरुमाझ प्रस्तुत गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८२/०८३ मा जस्तोसुकै कठिन परिस्थितिमा पनि कानूनी राज्यको कानूनी दायित्व पूरा गर्दै नागरिकलाई शान्ति-सुरक्षाका निम्ति ढुक्कको वातावरण तयार गर्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको देखाउँछ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्ले भन्छन्- ‘कसैले कानूनको उल्लंघन गरेका छन् भने कानूनको दायरामा ल्याएर कानूनी राज्यको प्रत्याभूति दिलाउने सन्दर्भमा नेपाल प्रहरी प्रतिबद्ध छ ।’
पछिल्लो समय सदीयौंदेखिको सामाजिक-धार्मिक सदभावमा खलल पुर्याउने गतिविधि बढ्दै गएकोप्रति नेपाल प्रहरी गम्भीर देखिएको छ । ‘हामी नेपाली हौं, विविधताबीचको एकता हाम्रो राष्ट्रिय पहिचान हो’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्लेले भने- ‘यदि यो भावनामा कसैले चोट पुर्याउन खोज्छ भने उनीहरूको पहिचान गर्दै प्रोफाइलिङ गर्नुपर्छ र कानूनको उल्लंघन गरेका छन् भने कानूनको दायरामा ल्याएर कानूनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’ सदीयौंदेखिको सामाजिक-धार्मिक सदभाव भत्काउने प्रयास कसैले नगर्न पनि उनले आग्रह गरेका छन् ।
नेपालमा रोहिंग्याको प्रवेश र घूसपैठ रोक्न खासगरी सीमा क्षेत्रका प्रहरी कार्यालयहरुलाई नेपाल प्रहरीले विशेष जानकारी गराउँदै शतर्क राखेको छ । खुला सीमाना, प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्थाको कमी, हुलिया र पहिचान मिल्नाले रोहिंग्या प्रवेश नियन्त्रणमा केही समस्या देखिए पनि नेपाल प्रहरीले यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी अपनाएको प्रहरी नायब महानिरीक्षक काफ्लेको भनाई छ । काठमाडौंको कपन, राम मन्दिर, लसुनटार र ललितपुरको सुनाकोठीलगायतका एरियामा ५ सय २६ जना रोहिंग्या रहेका, त्यसमध्ये १ सय ६२ जना पुरुष, १ सय ४८ जना महिला र २ सय १६ जना बालबालिका रहेको प्रहरीसँग तथ्यांक छ ।
वित्तीय र साइबर अपराध चुनौतीका रुपमा देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा नेपाल प्रहरीमा दर्ता भएको आधारमा दश मुख्य कशुरहरुमा बैकिङ्ग कशुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कशुर, आत्महत्या, लागूऔषध, साधारण चोरी, जवरजस्ती करणी, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कशुर, सवारी ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कशुर रहेका छन् । त्यस्तै साइबर ब्युरोमा १ सय ६१ मुद्दा दर्ता भएकोमा १९-२५ उमेर समूहका सबैभन्दा धेरै पीडक र २६-३५ उमेर समूहका सबैभन्दा धेरै पीडित रहेका छन् ।
२०८० साल चैत ३० गतेको नेपाल सरकारको निर्णयले नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कशुरसमेतको अनुसन्धान गर्ने जिम्मेवारी प्राप्त गरेपश्चात् गत आर्थिक वर्ष २०८२/०८३ मा १५ वटा मुद्दा अभियोजन, ५३ जना प्रतिवादी पक्राउ, ९ करोड ७१ लाख ६६ हजार ३ सय ९१ बराबरको सम्पत्ति, १ हजार ७ सय ५८ कित्ता शेयर, ५१ हजार ६ सय ७८.७६ वर्गमिटर जग्गा रोक्का, ५ करोड ५९ लाख ६३ हजार ८ सय ६८ बराबरको सम्पत्ति, ५ वटा सवारी साधन, २२ वटा मोबाइल, १ थान कम्प्युटर नियन्त्रण, २७ अर्ब ६२ करोड ५ लाख ७ हजार ४ सय ४२ बिगो मागदाबीसहित २५ वटा मुद्दाहरूमा अनुसन्धान शुरु गरी ६४ जना प्रतिवादी पक्राउ गरेको छ ।
‘चुनौती हामीले पहिचान गरेका छौं’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेको प्रष्टोक्ति छ- ‘चुनौती अपराधका रुपमा गएर पहाड नबनोस्, चुनौतीलाई शुरुमै चिर्न सकियोस् भन्नेमा हामी सचेत छौं र कार्ययोजना बनाएरै अघि बढेका छौं । सरकारको सुशासन र समृद्धिको अठोट अनि प्रहरी प्रधान कार्यालयको संगठन सुदृढीकरण र नागरिकमैत्री ‘पुलिसिङ’ को अवधारणाअनुरुप सिंगो प्रहरी संगठन उत्साहका साथ चुनौती चिर्न अग्रसर छ ।’
यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यभार सम्हालेपछि थप सुदृढ शान्ति-सुव्यवस्था र नेपाल प्रहरी संगठनको बृहत्तर हितका निम्ति पहिलोपटक नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न गरेको, आधारभूत तहका प्रहरी कर्मचारीहरुको वृत्ति-विकास, भर्ना छनौट, कार्य सम्पादन र मूल्यांकनको ढाँचा, कल्याणकारी कार्ययोजना, ट्राफिक व्यवस्थापनलगायत नेपाल प्रहरीका काम-कारबाहीमा व्यापक सुधारसँगै व्यवसायिक, प्रविधिमैत्री र नागरिककेन्द्रीत सेवाका लागि नेपाल प्रहरीको भावी स्वरुपका बारेमा थप कार्ययोजनाहरु अघि बढाउने रणनीति अवलम्बन गरिएको बताइएको छ । यस अवधिमा कर्तव्य पालनाको सिलसिलामा शहादतप्राप्त तीनजना अमर प्रहरीका आश्रित परिवारलाई नेपाल प्रहरीले सिनियर प्रहरी अधिकृतको तलबबाट कट्टा गरी साथै पूर्वप्रहरी कर्मचारी तथा प्रहरी कल्याण कोषसमेतको योगदानमा झण्डै १३ लाख ५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
गत आर्थिक वर्ष २०८२/०८३ को शुरूवातमै भदौ २३-२४ (२०८२) मा सुशासनका निम्ति भएको युवा पुस्ताको प्रदर्शनमा संयमता अपनाउदा सबैभन्दा बढी क्षति व्यहोरेको नेपाल प्रहरीले शान्ति-सुरक्षा, अमन-चैनका साथै गर्नुपर्ने कानूनबमोजिमका काम-कारबाही, सेवाग्राहीलाई सेवा दिन्छु भनेर सेवा भावले आएको प्रहरी कर्मचारी आफ्नो सेवाप्रति उदाशीन हुन्छ भने उसलाई (जुनसुकै तहको भए पनि) गरिएका विभागीय कारबाहीलगायत समग्र तथ्यांकहरुको अध्ययनले चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिई शान्त-सुरक्षित र भयरहित समाज निर्माणका लागि जस्तोसुकै परिस्थितिमा पनि प्रतिबद्ध छ भन्ने नै देखिन्छ ।
वि.सं.२०८३ साउन २४ आइतवार १२:०१



















