थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी
वि.सं.२०८३ असार १४ आइतवार ११:२२
438
shares
सरकार र जनताको अपेक्षाअनुसार आर्थिक सु-शासन र पारदर्शितालाई कडाइका साथ लागू गरेका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले कार्यभार सम्हालेपछि नीति, योजना तथा अनुसन्धान निर्देशनालयको स्थापनालाई प्राथमिकतामा राखे । संगठनको नीति, योजना र कार्यक्रमलाई थप प्रभावकारीरुपमा कार्यान्वयनका निम्ति यो निर्देशनालयको आवश्यकता महसूस गरिएकै थियो । आन्तरिक सुरक्षासँगै सीमा सुरक्षाको प्रमुख म्याण्डेट पाएको सशस्त्र प्रहरी बल, नेपालले राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षालाई थप व्यवस्थित, सीमामा हुनसक्ने अपराध नियन्त्रणका निम्ति मुख्य नाकाहरुमा बोर्डर इन्ट्रयाक्सन टीम (बीआईटी) संयन्त्र पाइलट प्रोजेक्टका रुपमा गठन गर्न लागेको छ भने संगठनका गतिविधिहरुलाई विगतमा भन्दा अझ व्यवस्थित रुपमा कसरी अघि बढाउन सकिन्छ भनेर सशस्त्र प्रहरी महानिरीक्षक पौड्याल क्रियाशील देखिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालका काम-कारबाहीलाई कानूनी र नीतिगतरुपमा स्पष्टता ल्याउन कानून निर्माणका प्रक्रियासँगै आर्थिक सु-शासन र पारदर्शितासम्बन्धी गुनासालाई निराकरण गर्न शुन्य सहनशीलताको नीति अवलम्बन, जनशक्ति, प्रविधि र परिचालनलाई परिणाममुखी बनाउनै पर्ने र अझ प्रभावकारी ढंगले थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षक पौड्यालको स्पष्ट मान्यतामा रहेको छ ।
उता संगठनको स्थापनाकालदेखि नै प्रभावकारी रुपमा तालिमप्राप्त दक्ष जनशक्तिमार्फत् विपद् प्रतिकार्यमा आफूलाई उत्कृष्ट सुरक्षा निकायका रुपमा दर्ज गराएको सशस्त्र प्रहरी बल, नेपालले समुदायलाई पहिलो प्राथमिकतामा राखेर जोखिमयुक्त क्षेत्रमा छिटो र प्रभावकारी प्रतिकार्य र व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न जिल्लाका १६ वटा स्थानमा स्थायी विपद् व्यवस्थापन वेश र कोशी प्रदेशमा ६, मधेश प्रदेशमा ११, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा २, सुदूरपश्चिम प्रदेशमा ८ गरी ५४ स्थानहरुमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको जानकारी सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले दिएका छन् ।
‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ अनुरुप सम्पूर्ण तयारीका साथ ‘हाई अलर्ट’ रहेको सशस्त्र प्रहरी बल, नेपालले २१ हजार ६ सय ९९ जनशक्तिलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा राखेको छ भने असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई अनुशिक्षण तालिम प्रदान गरिसक्ने योजना रहेको छ । त्यस्तै विपद् प्रतिकार्यको निम्ति ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु २४ सै घण्टा ‘स्ट्याण्डबाई’ रहने गरी राखिएको छ । सशस्त्र प्रहरी बल, नेपालले ८२ वटा र्याफ्ट बोट, ५३ वटा मोटर बोट र १ सय ३४ जना गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभरका ११ वटा जोखिमयुक्त स्थानहरुमा आवश्यक उपकरणसहित तयारी हालतमा राखेको बताइएको छ ।
यसैगरी विपद् व्यवस्थापनका विविध प्रकारका विशिष्ठिकृत तालिमप्राप्त ४ हजार ७ सय १० जना दक्ष सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद्को समयमा तुरुन्त परिचालन हुनका लागि विपद् उद्धारका सामग्रीहरु सहित तयारी अवस्थामा राखिएको, ८ वटा मास क्याजुयल्टी भेहिकल र ८ वटा ‘ए’ क्लास एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको, १० वटा (इमिडेट रेस्पोन्स टीम) भेहिकल कोशी प्रदेशमा २, मधेश प्रदेशमा १, बागमती प्रदेशमा ३, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा २, सुदूरपश्चिम प्रदेशमा १ तथा १३ वटा हेवी इक्युपमेण्टहरुलाई कोशी प्रदेशमा २, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, कर्णाली प्रदेशमा १, सुदूरपश्चिम प्रदेशमा १ तयारी अवस्थामा राखिएको जनाइएको छ ।
यस्तै डिप ट्युबवेल काठमाडौंमा ७ स्थान, कास्की, नवलपरासी, बाँके, कैलाली गरी १२ स्थानलाई तयारी अवस्थामा राखिएको, डिजाष्टर रिलिफ सिष्टमअन्तर्गत २८ वटा कण्टेनरलाई १३ वटा जिल्लामा सुनसरी २, सप्तरी ३, चितवन १, सिन्धुपाल्चोक ३, दोलखा ३, रसुवा २, लमजुङ २, म्याग्दी ३, गोरखा २, मनाङ १, दाङ १, कैलाली ३, दार्चुला २ तयारी हालतमा राखिएको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापा भन्छन्- ‘देशका कुनै पनि स्थानमा हुने मनसुनजञ्य विपद् घटनाहरुको तुरुन्त सूचना प्राप्तिका लागि स्थानीय तहहरुमा १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचक तयार गरिएको छ भने सम्भावित बाढी-पहिरो र डुवानबाट प्रभावित हुने स्थानहरुको प्रदेशगत रुपमा ‘जीआर’ सहितको विवरण अपडेट गरी राखिएको छ ।’
सशस्त्र प्रहरी बल, नेपालले मोबाइल एप्समार्फत् समुदायबाट विपद् उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने हेतुले APF-Community Alert System (APF-CAS) प्रणालीबाट हरेक बाहिनी तहमा अपरेशनल रुममा तत्काल सूचना प्राप्त गर्ने र अपरेशनल युनिटलाई परिचालनको लागि आदेश दिने गरी कार्य सञ्चालन शुरु गरेको, ८ वटै बाहिनी मुख्यालयहरु र विपद् उद्धार गणमा रहेका विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको, मुख्य-मुख्य करिडोरहरुको खोज तथा उद्धार योजना बनाई प्रतिकार्यका लागि स्थापित सम्बन्धित कार्यालयहरुलाई तयारी हालतमा रहनका लागि आदेश दिएको, देशभर रहेका कार्यालयहरुमा ‘डिजाष्टर फोकल पर्सन’ हरु तोकी सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरेको, राष्ट्रिय, प्रदेश, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरुमा सञ्चार तालिमप्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारीलाई आवश्यक समन्वयका लागि खटाएको छ ।
वि.सं.२०८३ असार १४ आइतवार ११:२२




















