फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?
वि.सं.२०८३ असार ११ बिहीवार १७:०७
105
shares
काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा क्रमशः स्पष्ट बन्दै गएको छ । ४८ टोलीमध्ये ३२ टोली नकआउट चरणमा पुग्ने नयाँ प्रणाली, तेस्रो स्थानका टोलीहरूको छुट्टै तालिका र नयाँ टाइब्रेकर नियमका कारण अझ रोचक बन्दैछ ।
हालको अवस्था अनुसार समूह ‘एल’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्ड र समूह ‘सी’ मा तेस्रो स्थानमा रहेको स्कटल्यान्डले अन्तिम १६ मा भेट्न सक्ने सम्भावना छ । तर त्यसअघि दुवैले अन्तिम ३२ को खेल जित्नुपर्नेछ । यद्यपि ब्राजिलसँग ३-० ले पराजित भएपछि स्कटल्यान्डको उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । तथ्याङ्क अनुसार स्कटल्यान्डसँग अर्को चरणमा पुग्ने सम्भावना करिव ४२ प्रतिशत मात्र रहेको छ ।
कसरी पुग्छन् नकआउट चरणमा ?
विश्वकपमा सहभागी ४८ टोलीमध्ये १६ टोली समूह चरणपछि बाहिरिनेछन् भने ३२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा जारी राख्नेछन् । १२ वटै समूहका शीर्ष दुई टोली स्वतः अन्तिम ३२ मा पुग्नेछन् । बाँकी ८ स्थान उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका टोलीलाई दिइनेछ । यदि दुई वा बढी टोलीको अंक बराबर भएमा खेलको नतिजा, गोलअन्तर, गरेका गोल, समग्र गोलअन्तर, समग्र गोल संख्या, अनुशासनात्मक अंक (पहेँलो र रातो कार्ड), फिफा वरीयताका आधारमा छनोट हुनेछन् ।
समूह ‘ए’ सह-आयोजक मेक्सिको लगातार तीनै खेल जित्दै समूह विजेता बनेको छ । दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १-० ले हराउँदै दोस्रो स्थान सुरक्षित गर्यो र पहिलो पटक नकआउट चरणमा पुग्यो । दक्षिण कोरिया तीन अंकसहित तेस्रो स्थानमा रहेर उत्कृष्ट तेस्रो टोलीको सूचीमा परेको छ । चेक गणतन्त्र एक अंकसहित अन्तिम स्थानमा रह्यो ।
समूह ‘बी’ स्विट्जरल्यान्डले क्यानडालाई २-१ ले हराउँदै सात अंकसहित समूह विजेता बन्यो । क्यानडा चार अंकसहित दोस्रो स्थानमा रह्यो । बोस्निया एन्ड हेर्जगोभिनाले कतारलाई ३-१ ले पराजित गर्दै चार अंकसहित तेस्रो स्थान हासिल गर्यो । चार अंक उत्कृष्ट तेस्रो टोलीका रूपमा छनोट हुन पर्याप्त हुने लगभग निश्चित मानिएको छ ।
समूह ‘सी’ ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै सात अंकसहित गोलअन्तरका आधारमा समूह विजेता बन्यो । मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै सात अंक नै जोड्यो तर गोलअन्तरमा पछि परेपछि दोस्रो स्थानमा सीमित रह्यो । स्कटल्यान्ड तीन अंक र माइनस तीन गोलअन्तरसहित तेस्रो स्थानमा छ । अब उसले अन्य समूहका नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । हाइटी अंकविहीन रहँदै बाहिरियो ।
समूह ‘डी’ संयुक्त राज्य अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ । अष्ट्रेलिया र पाराग्वे दुवैको तीन-तीन अंक छ । दुवै टोलीबीचको अन्तिम खेलले दोस्रो स्थानको निर्णय गर्नेछ । टर्की भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
समूह ‘ई’ जर्मनी समूह विजेता बनिसकेको छ । आइभरी कोस्टलाई दोस्रो स्थान सुनिश्चित गर्न कुरासाओविरुद्ध बराबरी पर्याप्त हुनेछ । इक्वेडरले दोस्रो स्थान हासिल गर्न जर्मनीलाई हराउनुपर्नेछ र आइभरी कोस्ट हार्नुपर्नेछ ।
समूह ‘एफ’ नेदरल्यान्ड्स शीर्ष दुईभित्र रहने निश्चित छ । जापानलाई स्वतः छनोटका लागि स्विडेनविरुद्ध कम्तीमा एक अंक आवश्यक छ । स्विडेनलाई शीर्ष दुईमा पुग्न जित्नैपर्ने अवस्था छ । ट्युनिसिया भने बाहिरिइसकेको छ ।
समूह ‘जी’ इजिप्टले इरानसँग खेल नगुमाएमा नकआउट चरणमा पुग्नेछ । इरानलाई अर्को चरणमा पुग्न जित आवश्यक छ । बेल्जियमले न्युजिल्यान्डलाई हराए शीर्ष दुईभित्र रहनेछ । न्युजिल्यान्डलाई पनि सम्भावना कायम राख्न जित्नैपर्ने अवस्था छ ।
समूह ‘एच’ स्पेनले उरुग्वेविरुद्ध हार टारे शीर्ष दुईमा रहनेछ । उरुग्वेले स्पेनलाई हराए नकआउट चरणमा पुग्नेछ । केप भर्डलाई साउदी अरेबियाविरुद्ध जित आवश्यक छ । साउदी अरेबियाको पनि सम्भावना जीवित छ, तर जित मात्र पर्याप्त नहुन सक्छ ।
समूह ‘आई’ फ्रान्स र नर्वे दुवै नकआउट चरणमा पुगिसकेका छन् । अब उनीहरूबीचको खेलले समूह विजेताको निर्णय गर्नेछ । सेनेगल र इराकको सम्भावना भने निकै कमजोर छ ।
समूह ‘जे’ अर्जेन्टिना समूह विजेता बनिसकेको छ । अस्ट्रिया र अल्जेरियाबीचको खेलले दोस्रो स्थानको निर्णय गर्नेछ । अस्ट्रियालाई बराबरी पर्याप्त हुनेछ भने अल्जेरियालाई जित्नैपर्नेछ । जोर्डन बाहिरिइसकेको छ ।
समूह ‘के’ कोलम्बिया शीर्ष दुईमा रहन सफल भइसकेको छ । पोर्चुगललाई समूह विजेता बन्न कोलम्बियालाई हराउनुपर्नेछ । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई दोस्रो स्थानका लागि जितसँगै ठूलो गोलअन्तर सुधार आवश्यक छ । उज्बेकिस्तानको सम्भावना अत्यन्त न्यून छ ।
समूह ‘एल’ इङ्ल्यान्ड गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । घानासँग पनि समान अंक रहेकाले अन्तिम खेलले समूह विजेताको निर्णय गर्नेछ । घानालाई शीर्ष दुईमा रहन कम्तीमा बराबरी आवश्यक छ । क्रोएसियालाई स्वतः छनोटका लागि घानालाई हराउनुपर्नेछ । पानामा भने पहिले नै बाहिरिइसकेको छ ।
हालको अवस्थामा चार अंक भएका बोस्निया एन्ड हेर्जगोभिना, सम्भावित रूपमा स्वीडेन, क्रोएसिया, अल्जेरिया, पाराग्वे, स्कटल्यान्ड, केप भर्ड, डीआर कंगो, बेल्जियम लगायतका टोलीहरू उत्कृष्ट तेस्रो स्थानका दाबेदार मानिएका छन् । त्यसैले समूह चरणका अन्तिम खेलहरू सकिनुअघि धेरै टोलीको भविष्य अझै अनिश्चित रहेको छ र नकआउट चरणको अन्तिम स्वरुप केही दिनमै स्पष्ट हुनेछ ।
वि.सं.२०८३ असार ११ बिहीवार १७:०७




















