YouTube Link

भाटभटेनीले यो देशलाई के अन्याय गरेछ ?

Facebook Link
vision

काठमाडौँको टंगालमा झुण्डिएका देवता राखिने एउटा मन्दिर छ, आकाशदेवीको । तिनैको नाम हो भाटभटेनी । पहिलोपटक त्यहीँबाट शुरू भएको एक मात्र सपिङ सेन्टर जहाँ राजपरिवारलगायत धनीवर्गले सामान किन्थे र बिस्तारै त्यसकै शाखा खुल्दै आएर आज दैनिक ज्यालादारी मजदुरहरूको समेत सहज पहुँच हुने गरेको थियो भाटभटेनीमा ।

 

सपिङ मल (भाटभटेनी) ले मन्दिर-भाटभटेनी भन्दा ज्यादा ख्याति कमायो । एक जना गुरूङको छोरा (मीनबहादुर गुरूङ) जसले देशको नियम कानुनअनुसार व्यापार गरेर हजारौंलाई रोजगारी दियो । लाखौं ग्राहकलाई सुविधा दियो । उसैमाथि पटकपटक प्रहार गर्ने मनोविज्ञान कसरी विकास भयो होला नेपालीहरूमा ? भाटभटेनीका सञ्चालक मालिक मीनबहादुर गुरूङसँग मेरो दूर दूरसम्मको कतै कुनै नाता जोडिँदैन, न त उनलाई कहिल्यै नजिकबाट देखेको छु । तर पनि भाटभटेनी जल्दा किन मेरो मन यसरी पोलेको होला ? संसद, सिंहदरबार, अड्डा अदालत, जलेकोमा पनि उत्तिकै पीर नभएको होइन ।

 

भाटभेटेनीमा केही पटक घरका लागि खाद्यान्न किनियो होला, केही पटक कपडा किनिए तर जति पटक गए पनि तोकिएको मूल्य लागेको रकम तिरेर आइयो । त्यहाँबाट ल्याइएको सामानमा नेपालमा उपलब्ध स्तर अनुसारको गुणस्तर छ भनेर चित्त बुझाइयो । अरू पसलमा कपडा किन्न गयो, ३५०० भनेर मोलमोलाइ गरिएको कपडा बार्गेन गर्दै जाँदा १५०० मा किनेर ल्याइन्छ । घर आइसकेपछि अझै लाग्छ, एकैपटकमा त्यत्रो घट्यो, मलाई ठग्यो कि क्या हो ? सामान्य चना, केराउ किन्दा जति मूल्य खुद्रा पसलमा तिरेर किनिन्छ, प्रति केजी त्यो भन्दा १ रूपैयाँ भएपनि कम तिरेर अरू पसलको भन्दा राम्रो गुणस्तरको र केलाएको चना पाइन्छ भने हामी उपभोक्ताले अरू कुन स्वार्थ खोज्ने र ?

 

जन्मेर १ वर्ष पनि नपुगेका केटाकेटीदेखि जेनजी भन्दा साना उमेरका किशोरकिशोरीसम्म आफ्ना बाबुआमालाई स्कुल बिदा हुनेबित्तिकै सोध्छन्– हामीलाई भाटभटेनी कहिले लैजाने ? यस्तो लाग्छ कि भाटभटेनी नगई केटाकेटीमा सभ्यताको शुरूवात नै हुन्न । विदेशबाट नेपाल आएको व्यक्ति वा परिवार सानो मञ्जन, स्याण्डो वा कोट किन्न परे पनि त्यहीँ धाउँछ । कुनै जमानामा स्केलेटर भर्याङ चढ्न काठमाडौँको विशालबजारमा मात्रै सम्भव थियो र धनीमानीले मात्रै त्यो मौका पाउँथे । आज ठाउँ ठाउँमा खुलेका भाटभटेनीको शाखाले केही किन्न नआउने ग्राहकलाई पनि निःशुल्क लिफ्ट चढ्ने सुविधा दिएर सेवा पुर्याएको थियो ।

 

दशैंको मुखमा कति सामान थपिएको थियो होला भाटभटेनीका शाखाहरूमा ? कति कर्मचारीको दशैं बोनस र तलब थाप्ने बेला भएको थियो होला ? मीनबहादुर गुरूङको पेटमा लात हानेँ भन्नेहरूले त्यो लात कसलाई मारे होला ? म सोच्दासोच्दै हैरान भएँ । एउटा शाखामा आगो लगाउँदा दुर्घटना भन्न सकिन्थ्यो । दुई वा तीन वटा शाखामा हानेको भए संयोग भन्न सकिन्थ्यो होला । दर्जनौं संख्यामा जलाउनै पर्ने भाटभटेनीले यो देशलाई के अन्याय गरेछ ? के ठगेछ ?

 

अघल्लो दिनको जेनजीहरूको बलिदानसँगै देश पूरा स्तब्ध थियो । यही स्तब्धतामा भाटभटेनी पनि खुल्न सकेन भोलिपल्ट । बन्द रहेका भाटभटेनीमा एउटा पनि कर्मचारी मरेको खबर बाहिर आएको छैन । तर भाटभटेनीका शाखाहरूमा जलेको अवस्थामा भेटिएका शवहरूको संख्या दर्जनको हाराहारीमा छ । कसरी मरे तिनीहरू ? जेनजीको नाम सापट लिएर भाटभटेनीमा १ बाल्टी चामल, दुई वटा पुतली, एक दुई जोर कपडा लुट्नुपर्ने सुकिलाहरूलाई कसले दिएको होला तालिम ? एक दुई जना भए तिनीहरूको मति त्यस्तै होला भनेर चित्त बुझाइन्थ्यो । सैयौंको संख्यामा लुटेराहरू क्यामरामा कैद भएको सामाजिक सञ्जालमा भेटिँदा साँच्चै लाज लाग्छ सबैलाई । विभिन्न देशहरूले हाम्रो भिसा रोके, पासपोर्ट भ्याल्यु दिएनन् भनेर हाम्रै रगत उम्लिन्छ, अनि फेरि आफ्नै देशमा लुटपाटका यति बाक्ला घटना घटाएर हामी कसरी अरूका अगाडि इमान्दार बन्न सक्छौं ? विदेशीहरूले हामीलाई कसरी पत्याउँछन् अब ? सानैदेखि इमान्दार र सरल नेपाली हौँ हामी भन्दै सिकेर हुर्केको कुरा गलत थियो कि हाम्रो सिकाइ गलत भयो ?

 

 

कुनै बेला भाटभटेनीमा माओवादीको टन्नै लगानी छ भन्थे । पछि फेरि एमालेसँग काँध मिलाएको छ भन्ने हल्ला चल्यो । आगामी दिनमा काँग्रेस वा जेनजीसँग पनि साँठगाँठ छ भन्ने समाचार नआउला भन्न सकिन्न । तर मीनबहादुर को हुन् त ? एमाले ? माओवादी ? कि परम्परागत भ्रष्टाचारी राजनीतिका आविष्कारक यिनै हुन् ? यदि हैनन् भने मीनबहादुरलाई भाग्यले साथ दियो, समय र बुद्धिले पनि साथ दियो, कसैलाई नलुटी व्यापार गर्दैमा हामीले उनको रिस किन गर्ने ?

 

बिनोद चौधरी विश्वमा नेपालका एक मात्र बिलियनयर भए भने हामीले गर्व गर्ने कि वाइवाइ चाउचाउ बहिष्कार गर्ने ? गोछल, मित्तल वा वैद्य समूहले कमाए भनेर भित्तामा टाउको ठोक्ने कि रोजगारीका अवसरलाई सदुपयोग गर्ने ? मीनबहादुरलगायत यी व्यापारीले देशको राजश्व ठगेका छन् वा लुटेका छन् भने राज्यले पाता मस्काएर थुनोस् न १ अमेरिकाका एलन मस्कलाई राज्यले तह लगाउन सक्दोरहेछ, भारतका अम्बानी वा टाटालाई तह लगाउन सक्छ भने हाम्रो सरकारले सक्दैन ? चुनावलाई बजेट, पार्टी चलाउन चन्दा, जग्गा, भवन, महंगा रक्सी वा उस्तै परे आफ्ना परिवारका लागि एक दुई जोर कोट पनि मागेका होलान् नेताहरूले १ अनि राज्य वा दलहरूले कुन नैतिकताले कारबाही गर्न सक्छन् र धनीहरूलाई ? यदि सक्दैन भने जनतामा किन भ्रम छर्दैछौँ ?

 

बेला बेलामा व्यापारी, व्यवसायीमाथि गरिएका मिडिया ट्रायलका शिकार यसैगरी धनी वर्ग हुँदै गए भने झन् झन् गरीब हामी नेपालीले कसरी अर्थतन्त्र चलाउन सकौंला र ? गलत काम गरेर धनी हुनेलाई राज्यले साइजमा ल्याउनुपर्छ, कारबाही गर्नुपर्छ वा मनग्गे कर लिनुपर्छ तर हरेक धनी गलत तरिकाबाटै धनी हुन्छ भन्ने मान्यताबाट हामी मुक्त नभएसम्म यो बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने समस्याका रुपमा रहेको जस्तो लाग्छ । २०४६ सालदेखि आजसम्म चप्पल पड्काएर काठमाडौँ छिरेकाहरूले काठमाडौँकै रैथाने धनाढ्यहरुलाई पनि माथ गरिसके । तिनीहरूको लेखाजोखा र अनुसन्धान कसले गरेको छ ? २०४६ सालमै राजधानी पसेका सयौं इमान्दार मानिसहरू अहिले पनि तीन आना जग्गा जोड्न नसकेर काठमाडौँमा सदाबहार डेरामा बसिरहेका लाखौं उदाहरण पनि छन् । चोरलाई चौतारो साधुलाई सुली हुने शासनबाट मुक्त भएको अनुभव जनताले कसको पालामा गर्ने ?

 

वर्षौंदेखि अधोगति लागेको राष्ट्रको सत्तामा दुधले नुहाएकाहरू थोरै मात्रै भेटिन्छन् । हैन भने अहिलेको मन्त्रीमन्डलमा ११ सदस्य पुर्याउन यति हम्मे पर्दैन थियो प्रम सुशीला कार्कीलाई । यस्ता बेला व्यापारी र नेतालाई मात्रै गाली गरेर हामी साधु बन्ने कि हामीलाई पनि सुधार्ने ? चैत्र १५ गतेको भीडमा भाटभटेनीको एकाध शाखामा तोडफोड र चोरी भयो । यो पटक त १८ वटा भन्दा बढी शाखामा यो क्रम दोहोरियो । हरेक आन्दोलनमा अवसरवादीहरूले मौका हान्ने ठाउँ पो बनेको जस्तो देखियो भाटभटेनी ।

 

सीसीटीभी फुटाएको, हौवाका समाचार फैलाएको, आफूलाई असल र बहादुर प्रमाणित गर्ने हर्कत गरेको देख्दा लाग्छ, एकताका युट्युबरले समाचार बिगारे भनेर युट्युबे भन्ने मिडिया पनि आफैं बिग्रे । ती सबै बिग्रेपछि जनता पनि नियन्त्रणमा रहेनन् । मिडिया सधैं प्रतपक्षी जात हो सरकारको तर यसको अर्थ यो हैन कि सरकारको नालायकी देखाउन भए नभएका समाचार फैलाउन् र काउन्सिल मार्फत आफूलाई कारबाही गर्न चुनौती दिउन् । लोकतन्त्रले स्वतन्त्रता दिएको राम्रो बोल्न हो, अरूलाई सराप्न हैन ।

 

कम्तीमा १५ हजार रुपैयाँ पर्ने एउटा मोबाइल सबको हातमा छ । त्यो उसले किनेको हो, तसर्थ मोबाइल धनी एउटा प्रकाशक वा मिडिया मालिक हो । त्यो मोबाइलबाट मन लागेका कुरा लेखेर देखाउन, मन लागेका भिडियो खिच्न, आवाज रेकर्ड गर्न मिल्छ । जसले ती सबै खिच्छ, रेकर्ड गर्छ र लेख्छ, ऊ संवाददाता हो । त्यसपछि लेखेका, रेकर्ड गरेका वा भिडियो खिचेका कुन सामग्री सामाजिक सञ्जालमा राख्ने नराख्ने निर्णय पनि उसकै हो । यसर्थ ऊ आफैं सम्पादक पनि हो । राम्रो कुरा प्रस्तुत गरे एउटा मोबाइलले नै ठूला ठूला मिडियालाई हराइदिन सकिन्छ । तर को भन्दा को कम भनेर समाज नै गलत दिशामा लैजाने मोबाइल पत्रकारिताले भाटभटेनी जलाउन मात्रै सिकाउँछ, सीसीटीभी फुटाउन सिकाउँछ, अरूलाई गाली मात्रै गर्न सिकाउँछ, प्रशंसा सिकाउँदैन ।

 

देशलाई माया गरौं । देशका व्यापार, व्यवसाय गरेकाहरूलाई माया गरौं । सके तिनबाट सकारात्मक फाइदा लिउँ नसके सत्तोसराप नगरौं । अहिले गरेको कर्मको फल नभोगी सुखै छैन । आज मै हुँ भनेर सत्ता र धन लिएर बसेका नेता त फुटपाथ वा डेरामा आइपुगे । हिजो संसारमै प्रतिष्ठित भएका राजा त गद्दीविहीन भएर बसे भने तपाईं हामी त सानो देशका निम्छरा नागरिक मात्रै हौँ । राम्रो गरे जीवनमा साधारण सन्तुष्ठि र खुसी त आउला १ यही चुत्थो जिन्दगी पनि कति दुःखी भएर बाँच्ने हो र ?

 

चरित्र त्यो हैन, जो अरूलाई देखाइन्छ । चरित्र त्यो हो जो तपाईं एक्लै हुँदा, बेडरूममा हुँदा, अँध्यारोमा हुँदा, बाथरूममा हुँदा, आफ्नो भाषा पटक्कै नबुझ्ने विदेशमा रेलमा चढिरहँदा, मुखमा मास्क वा हेलमेट लगाएका बेला, जुलुस वा भिडमा भएका बेला देखाउनुहुन्छ त्यो हो चरित्र । विदेशको एउटा इस्कन मन्दिरमा सीसीटीभी क्यामेरा मुनि लेखिएको एउटा वाक्य स्मरण गराउँदै यो लेखलाई बीट मार्छु, ‘भगवान कृष्णले तपाईंलाई हेरिरहनु भएको छ ।’

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...