सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३३
420
shares
काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था विभागले आज सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा बन्द रहने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुग्न गएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।
यसैबीच विभागले जेन-जी प्रदर्शनको क्रममा लुटपाट भएका सामग्री भेटेमा बुझाइदिन पनि सबैलाई अनुरोध गरेको छ । कसैले यातायात विभाग, जि.खा.पा.नं. उल्लेख गरिएका सामान देखे, भेटाए, पाए कार्यालयका कर्मचारी वा नजिकको सुरक्षानिकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियानमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।
विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीका अनुसार विभागको सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टि.भी., छपाइ मेसिन, छपाइ भएका सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामान चोरी/लुटपाट भएको छ ।

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३३