‘हट सीट’ मा बसेर ‘सुरक्षित काठमाडौं उपत्यका’ को मार्गचित्र
वि.सं.२०८२ भदौ ८ आइतवार ११:३५
2.1K
shares
काठमाडौं: काठमाडौं उपत्यका देशको संघीय राजधानी भएकाले यहाँको शान्ति-सुव्यवस्था अवश्य नै चुनौतीपूर्ण हुन्छ । त्यो चुनौतीलाई एउटा व्यवसायिक प्रहरी कमाण्डरले कसरी सफल रुपमा चिर्न सक्छ भन्ने उदाहरण काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आफ्नो कार्यकालमा प्रस्तुत गरेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्दासाथ काठमाडौं उपत्यकालाई लागूऔषध दुर्व्यशनमुक्त बनाउने हेतुले शुभारम्भ गरिएको ‘लागूऔषधविरुद्धको महाअभियान’ अहिले प्रभावकारी बन्दै गएको छ । यो महाअभियानमा पत्रकार, स्थानीय निकाय, कलाकार, खेलाडी, औषधि व्यवसायीलगायत समाजका हरेक पक्ष जोडिएर आ-आफ्नो तर्फबाट लागूऔषधविरुद्ध अभियान चलाइरहेका छन् । प्रहरीले लागूऔषधविरुद्धको कारबाहीलाई प्रभावकारी बनाउँदा र सप्लाइकर्ताविरुद्ध निर्मम बन्दा प्रहरीमा सूचना दिने परिपाटी र मुद्दा दर्ता पनि बढ्दै गएको तथ्याङ्कले देखाउँछ ।
यस्तै काठमाडौं उपत्यकामा प्राकृतिक विपद् आइहाले विपद् उद्धारका निम्ति काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत एउटा पनि रबर बोट नभएको अवस्थामा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको कार्यकालमा आफ्नै साधन-स्रोतले नभ्याउँदा सहयोगी संघ-संस्थाको सहयोगमा सातवटा रबर बोट तयारी अवस्थामा राखिएको छ भने लाइफ ज्याकेट १ हजार ३ सय ९१, ट्युब १ सय ६०, लाइन डोरी ३ हजार ६ सय ५४ (मिटरमा), अग्नि समन यन्त्र ७ सय ७४, फ्लोरिसेन्स ज्याकेट २ हजार १ सय १७, फायर सुट ४४, ड्रिल मेशिन सानो १६ वटा तयारी अवस्थामा छन् ।
उता २९ वटा सामुदायिक सेवा केन्द्रमा विपद् सामुदायिक स्वयंसेवक समिति गठन गरिएको छ । सामुदायिक स्वयंसेवक ३ सय ६१ जना र प्रहरी कर्मचारी ४ सय ८७ जनालाई विपद् उद्धार तालिमसमेत दिइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ भन्छन्- ‘विपद् उद्धार तालिम प्रत्येक वर्ष दिनुपर्छ । विपद्को मौसम, चाडपर्वको मौसम, आन्दोलनको मौसमअनुसार प्रहरी जनशक्तिलाई प्रशिक्षित गरेर तयारी हालतमा राख्नुपर्छ । यसो हुँदा प्रभावकारी कार्य सम्पादनमा व्यवसायिक प्रहरी सक्षम हुन्छ र प्रत्येक प्रहरी कार्यमा समुदायको सहभागितासमेत जरुरी छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार ‘सुरक्षित काठमाडौं उपत्यका’ बनाउने अभिप्रायका साथ १४ लक्ष्य, ८३ कार्यगत उद्देश्य र १ सय ९४ क्रियाकलापसहित त्रि-वर्षीय कार्ययोजना बनाइएको छ भने उक्त त्रि-वर्षीय कार्ययोजना अनुसार भौतिक पूर्वधारको विकास, मानव स्रोत व्यवस्थापन र विकास, प्रहरी कर्मचारीको आचरण-व्यवहारमा सुधार, प्रहरी कर्मचारीको मनोबल तथा उत्प्रेरणा बृद्धि, अपराध रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउने नीति अवलम्बन गरिएको छ ।
यसैगरी त्रि-वर्षीय कार्ययोजनाअन्तर्गत अपराध-अनुसन्धानको स्तरीयतामा बृद्धि गर्ने, प्रहरी कारबाही र परिचालनलाई थप प्रभावकारी बनाउने, विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यलाई सुदृढ गर्ने, सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधार गर्ने, अत्याधुनिक प्रविधिको प्रयोगमा जोड दिने, समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई सशक्त बनाउँदै लैजाने, प्रहरी कार्यमा स्थानीय तह र जनसहभागिताको बृद्धि गर्ने, पर्यटक प्रहरीलाई सवलीकरण गर्ने, सिर्जनशील कार्यलगायत प्रहरी उत्प्रेरणामा बृद्धि गर्दै लैजाने लक्ष्य राखिएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मनाइँदै आएका सम्पूर्ण जात्रा, मेला, पर्व, चाड, उत्सव, अन्तर्राष्ट्रिय दिवसलगायतको अभिलेख राखी त्यसलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक योजना निर्माण गर्ने, सामाजिक सञ्जाल तथा इण्टरनेटहरुमा आपराधिक गतिविधि, गुण्डागर्दीजस्ता शान्ति-सुरक्षामा प्रत्यक्ष असर पार्नसक्ने क्रियाकलापहरुको निगरानी गरी अपराध-अनुसन्धान गर्ने इकाइहरुलाई सहयोग गर्न ‘साइबर पेट्रोल युनिट’ (सीपीयु) को कार्य प्रारम्भ गर्नेलगायतका मुख्य विशेषताहरु ‘सुरक्षित काठमाडौं उपत्यका’ बनाउने त्रि-वर्षीय कार्ययोजनामा रहेका छन् ।
नदी फोहोर निषेध अभियान, शान्त तथा अवरोधमुक्त छिमेकी अभियान, युवासँग प्रहरी अभियान, प्रहरी गस्ती र पेट्रोलसँगसँगै लघु सचेतनामूलक कार्यक्रममार्फत् काठमाडौं उपत्यकाबासीको मन जितेर ‘प्रहरी मेरो साथी’ भन्ने भावनामा बृद्धि गर्दै ‘सुरक्षित काठमाडौं उपत्यका’ बनाउने काठमाडौं उपत्यका प्रहरी कार्यालयको योजना सुनाउँछन् प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक खनाल ।

यता २०८० साल साउन १५ गते प्रहरी महानिरीक्षकसँग काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकले गरेको कार्य सम्झौतामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक औषत प्रगति ९५.८० प्रतिशत रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल बताउँछन् । यसबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा धेरै संख्यामा दर्ता भएका १० मुख्य अपराधहरुमा बैंकिङ्ग कशुर, सार्वजनिक हितविरुद्धको कशुर, चोरी, ठगी, भवितव्य ज्यान, लागूऔषध, आत्महत्या, जवर्जस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान रहेका छन् । काठमाडौं उपत्यकामा एक दिनमा १९ सडक दूर्घटनामा २१ घाइते र दुई दिनमा १ जनाको ज्यान जाने गरेको देखिन्छ भने प्रहरी कार्य, शान्ति-सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रहरीले थप सक्रियता बढाएको पाइन्छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा प्रशिक्षण-अनुशिक्षण, पुरस्कार तथा कारबाही, अपराध नियन्त्रण र अनुसन्धान, अपराध दर्ताको संख्या, अपराध तथ्याङ्क विश्लेषण, लागूऔषध बरामद-पक्राऊ, अवैध मुद्रा तथा भौतिक वस्तु बरामद, फैसला कार्यान्वयन, हराएका तथा फेला परेका मानिसहरुको विवरण, घरेलु हिंसा, सडकबाट उद्धार गरिएका व्यक्तिहरु, प्रहरी कार्य, शान्ति-सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, सूचना प्रवाहको क्षेत्रमा गरेको वार्षिक कार्य प्रगति विवरणको तथ्याङ्क विश्लेषण गर्दा अपराधविरुद्ध प्रहरी निर्मम भएको र काठमाडौं उपत्यकाबासीमा अपराधविरुद्ध प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्छ भन्ने चेतनामा उल्लेख्य बृद्धि प्रष्टसँग देख्न सकिन्छ ।
त्यसै पनि देशको संघीय राजधानी काठमाडौं उपत्यका । त्यही उपत्यकाको शान्ति-सुव्यवस्था चुस्त-दुरुस्त राख्नुपर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको ‘हट सीट’ । त्यो ‘हट सीट’ मा बसेर आफूलाई अब्बल सावित गराउन जो-कोहीलाई हम्मे-हम्मे नै पर्छ । किनभने यही उपत्यकाको भीडभाडमा भीआईपी-भीभीआईपी भनिनेहरुको ओहोर-दोहोर बाक्लैमात्र हुँदैन, हुलदंगा र आन्दोलन यहीं हुने गर्छन् भने हरेक किसिमका अपराध कर्म गर्नेहरुले टाउको उठाउने बारम्बर प्रयास गरी नै रहन्छन् । यी सबैको निगरानी गरेर शान्त र सुरक्षित काठमाडौं उपत्यका राख्नु पक्कै पनि चुनौतीपूर्ण काम नै हो ।

तर, आफूलाई जहाँ-जहाँ जिम्मेवारी आइपर्छ, त्यहाँ-त्यहाँ अब्बल सावित गरेका अपराध-अनुसन्धान र कमाण्ड कन्ट्रोलका उत्कृष्ठ कमाण्डर काठमाडौं उपत्यका प्रहरी कार्यालयका हालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले त्यही ‘हट सीट’ मा बसेर चाहने हो भने एउटा व्यवसायिक प्रहरी कमाण्डरले जस्तासुकै चुनौतीलाई चिर्दै सफल अवतरण गराउन सक्छ भन्ने उदाहरण पेश गरेको काठमाडौं उपत्यकाबासी नागरिकले प्रष्टैसँग अनुभूत गरेको तथ्य भविष्यमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आउनेहरुले महसूस गर्ने नै छन् ।
वि.सं.२०८२ भदौ ८ आइतवार ११:३५




















