टोटनहमलाई हराउँदै पिएसजी बन्यो सुपर कप च्याम्पियन
वि.सं.२०८२ साउन २९ बिहीवार ०८:५२
1.5K
shares
एजेन्सीः पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै युइएफए सुपर कप जितेको छ । यो जितसँगै पिएसजीको २०२५ को आफ्नो पाँचौं उपाधि हो । फ्रेन्च क्लबले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो ।
स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २-० गोलले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो । खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा टोटनहम जित नजिक पुगेको थियो । तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेललाई पेनाल्टीमा पुर्याए ।
पेनाल्टीमा पिएसजीका भिटिन्हाले पहिलो प्रहार बाहिर हाने । तर टोटनहमका लागि पहिलो गोल गरेका मिकी भ्यान डे भेनको पेनाल्टी प्रयास पिएसजी गोलरक्षक लुकास शेभालिएरले रोकिदिए । टोटनहमा माथिस टेलले पनि सट बाहिर हाने । त्यसपछि नुनो मेन्डेसले दबाबको क्षणमा पेनाल्टीमा गोल गर्दै युरोपियन च्याम्पियन पिएसजीलाई जित दिलाए । टोटनह्यामले तीन महिनाभित्र दोस्रो युरोपियन उपाधि जित्ने मौका गुमायो ।
मे महिनामा युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएर उपाधि जिताएपछि तत्कालीन प्रशिक्षक एन्ज पोस्टेकोग्लु १६ दिनमै बर्खास्त भएका थिए । त्यसपछि टोटनहम सम्हालेका थोमस फ्राङ्कको पहिलो प्रतिस्पर्धात्मक खेल हो । इटालीको उदिनमा भएको खेलको ३९औं मिनेटमा भ्यान डे भेनको गोलमा टोटनहमले अग्रता लिएको थियो । उनले रोबाउन्डमा गोल गरेका थिए ।
गियानलुइजी डोनारुम्मालाई बाहिर राख्दै पहिलो रोजाइमा गोल पोस्ट सम्हालेका शेभालिएरले दोस्रो हाफको सुरुवात मै अर्को गोलको सामना गर्नुपरेको थियो । खेलको ४८औं पेड्रो पोरोको फ्रि-किकपछि क्रिस्टियन रोमेरोको हेड मार्फत गोल गर्दै टोटनहमको अग्रता २-० बनाएका थिए । जुलाईमा अमेरिकामा भएको क्लब विश्वकपको फाइनलमा चेल्सीसँग पराजित भएको पिएसजी एक साता अघि मात्र प्रशिक्षणमा फर्केका थिए । त्यसका बाबजुद पनि पिएसजीले शानदार पुनरागमन गर्न सफल रहेको थियो ।
खेलको ८५औं मिनेटमा पिएसजीका ली काङ-इनले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए । त्यसपछि रामोसले इन्ज्युरी समयमा नाटकीय गोल गर्दै खेललाई पेनाल्टीमा पुर्याएका थिए र टोली च्याम्पियन बनेको थियो ।
वि.सं.२०८२ साउन २९ बिहीवार ०८:५२




















