आजदेखि महिला लिगः १४ क्लबले छनोट खेल्ने
वि.सं.२०८२ साउन २९ बिहीवार ०९:०९
1.4K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग छनोट बिहीबार (आज) देखि सुरु हुने भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा सहभागी १४ टोलीबीच हुने ४३ खेलबाट ५ टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुने बुधवार एन्फा आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको र राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन् । दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ ।
छनोटमा न्युरोड टिम (एनआरटी), स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एन्ड बीच, राप्ती फुटबल क्लब, एनबिएम पोखरा गल्र्स एफसी, नेपाल खेलकुद क्लब सहभागी छन् ।
त्यस्तै लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रयाले, चर्च ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र संकटा क्लबले पनि छनोटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ४३ खेल खेलिने छ। प्रतियोगिता सन्चालनमा झन्डै ९० लाख रुपैयाँ खर्च हुने र छनोटका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ ।

वि.सं.२०८२ साउन २९ बिहीवार ०९:०९




















