नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर
वि.सं.२०८२ असार २१ शनिवार ०७:०८
1.7K
shares
काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज घरेलु टोली उज्वेकिस्तानसँग नेपालले समूह चरणको अन्तिम तथा निर्णायक खेल खेल्दैछ । अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको आज टुंगो लग्नेछ । खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन् । दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन् । यो अन्तिम खेल रोमाञ्चक मोडमा पुगेको छ । विजेता टोलीले एसियन कपको टिकट काट्ने छ ।
फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै माथि छ । उज्वेकिस्तान ५१औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा छ । दुई टोलीबीच भएका ३ भेटमा उज्वेकिस्तानले सबै जित निकाल्दै ११ गोल गरेको छ । नेपालले ३ गोल मात्र फर्काउन सकेको छ ।
सन् २०१९ को नादेज्दा कपमा यी दुई टोली दुईपटक भिडेका थिए । समूह चरणमा २-० गोल अन्तरले पराजित भएको नेपालले फाइनलमा पनि ३-२ गोल अन्तरले पराजित हुन पुगेको थियो । उज्वेकिस्तानसँग एसियन कपको पाँच पटकको अनुभव छ । जुन उसलाई थप आत्मविश्वास दिलाउने पक्ष हो । तर नेपाली टोलीका लागि यो इतिहास उल्ट्याउने अवसर हो । जसले नेपाली महिला फुटबलको नयाँ अध्यायको थालनी गर्न सक्छ ।
वि.सं.२०८२ असार २१ शनिवार ०७:०८



















